सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको आरोप लगाउने विजयप्रकाश मिश्रले यस प्रकरणमा धेरै कुराहरु दबिएर रहेको बताएका छन्।
उनले ती सबैकुरा भविष्यमा थाह हुने दाबी समेत गरेका छन्।
‘यस प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेका छन्। यी सबै प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरिनेछ र तपाईं शुभेच्छुक, राष्ट्रप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि भविष्यमा राम्रोसँग बुझ्नुहुनेछ भन्ने विश्वास लिएको छ,’ उनले बुधबार जारी गरेकाे विज्ञप्तिमा भनेका छन्।
स्विस कम्पनिका स्थानीय एजेन्ट मिश्र र तत्कालीन मन्त्री बाँस्कोटाबीच कमिसन रकमबारे मोलमोलाई भएको भनी अडियो नै सार्वजनिक भएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ।
त्यसबारे सोधपुछ गर्नका लागि भन्दै अख्तियारले मिश्रलाई हाजिर हुन सार्वजनिक सूचना जारी गरेपछि उनले हाल आफू जापानमा रहेको जानकारी सार्वजनिक गरेका छन्।
उनले आफू सोही प्रकरणको अडियो डिभाइस लिन जापान आइपुगेको बताएका छन्।
अख्तियारले गोरखापत्रमा बुधबार सूचना प्रकाशित गर्दै ७ दिनभित्र अख्तियारको प्रहरी महाशाखामा हाजिर भएर अनुसन्धान अधिकृतलाई भेट्न भनेको छ।
अख्तियारले उनलाई उपस्थित नभए कानुनअनुसार अगाडि बढ्ने चेतावनी दिएको छ। आरोपपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले भने आफूमाथि नियोजित षड्यन्त्र गरिएको दाबी गर्दै आएका छन्। आफूले घुस नलिएको उनको दाबी छ।
याे पनि: ७० करोड घुस प्रकरणमा अख्तियारले बोलायो स्थानीय एजेन्ट मिश्रलाई
सेक्युरिटी प्रिन्टिङ प्रेस खुला प्रतिस्पर्धाबाट खरिद गर : लेखा समिति
मिश्रद्वारा जारी बिज्ञप्ति:
प्रतिक्रिया