ad ad

कारोबार


सरकारले पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने

सरकारले पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १८:३१, काठमाडौँ

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ। 

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सो कुरा बताएका हुन्।  

उनले सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए। 

उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे।

अर्थमन्त्री डा.महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए। उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ। धेरै मागहरु आए पनि धेरै कम गर्न कोशिस गर्छौँ। साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ’, मन्त्री महतले भने, ‘सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ। सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ। अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ।’ 

उनले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको जानकारी दिए। 

सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने,समिति स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको उनको भनाइ छ। 

उनले भने, ‘पुँजीगत खर्च समयमा खर्च नहुनु, पूर्वाधार निर्माणका कार्य समयमा नहुनु, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्नको लागि पनि काम गर्न जरुरी छ। सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस्।’

त्यस्तै अर्थमन्त्री डा. महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए। उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार संकलन राम्रो नभएको बताए। 

उनले भने, ‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन। प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं। नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं। चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ।’ 

हरेक वर्ष बढी लक्ष्य राखे पनि करिब लक्ष्य प्राप्त गर्ने अवस्था सधैँ सहज नहुने उनले बताए। यो वर्ष आयात प्रतिबन्ध, कोरोना महामारीको अवस्था, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको उनको भनाइ थियो। 

अर्थमन्त्री डा.महतले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालू आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए। 

आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उनले उल्लेख गरे।  उनले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए। 

उनले बैंकको कर्जाको ब्याजदर कम गर्न सक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नु आवश्यक रहेको बताए। अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पत्रकारहरुले त्यहीअनुसार समाचार प्रवाह गर्न आवश्यक रहेको बताए।

त्यस्तै अर्थसचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए। उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता दिनसक्ने अवस्था नभएको बताए। 

उनले सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत पाउने व्यवस्थामा जान आवश्यक रहेको बताए।

उनले सरकारले नाकामा हुने राजस्व चुहावट रोक्नको लागि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए। नेपालमा खुल्ला सिमाना धेरै रहेकाले राजस्व चुहावट भइरहेको स्वीकार गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको प्रयास रहेको बताए।

आजको भेटमा नाफिजको तर्फबाट अध्यक्ष मोदनाथ ढकालले अर्थमन्त्री महतलाई सुझाव समेत दिएका छन्। पत्रकारको क्षमता वृद्धिमा अर्थ मन्त्रालयले ध्यान दिनुपर्ने अध्यक्ष ढकालको भनाइ छ। 

त्यस्तै मिडियाहरु महामारिका कारण मारमा परेको र त्यसमा हेर्न समेत उनले सुझावको क्रममा बताए। अहिलेको अर्थतन्त्र सम्हाल्न र आगामी बजेटमार्फत सुधारको योजनाहरु ल्याउन सुझाव प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .