सर्वोच्च अदालतमा परेको नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरणसम्बन्धी सबै मुद्दा खारेज भएको छ।
अधिवक्ता दिपक विक्रम मिश्रलगातले सर्वोच्चमा हालेको मुद्दा खारेज भएसँगै नयाँ स्टक, कमोडिटी एक्सचेन्ज र ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बाटो समेत खुल्ला भएको छ।
न्यायाधीशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले फैसला गर्दै रिट खारेज गरिदिएको हो।
यसअघि २३ गते यो रिटमा सुनुवाइ भए पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइ गर्दै सर्वोच्चले फैसला गरेको हो।
अधिवक्ता दिपक विक्रम मिश्रले धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै गत असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो। बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो।
नयाँ ब्रोकर लाइसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन् । एक स्टक डिलर, ४ पूर्णकालीन र ४१ वटाले सीमित कार्य गर्न बोर्डमा आवेदन दिएका छन् ।
नयाँ स्टक र कमोडिटीको लागि भने आवेदन परेको थिएन। आवेदन दिने अन्तिम दिन नहुँदै बोर्डले तत्काल काम यथावत् राखेको जानकारी गराएको थियो।
Shares
प्रतिक्रिया