नेपालको हिमाल आरोहण कोभिडअघिकै अवस्थामा फर्किएको छ।
कोभिड महामारीपछि सुस्ताएको आरोहण वसन्त ऋतुमा पुरानै अवस्थामा फर्किएको हो।
सगरमाथा आरोहणका लागि वसन्त ऋतुमा सबैभन्दा धेरैले अनुमति पाएका छन्।
कोभिड महामारीको कारण २०२० मा आरोहण स्थगित भएको थियो। त्यसपछिका २ वर्षमा समग्र पर्यटक कम भए पनि हिमाल आरोही उत्साहप्रद नै थियो।
पर्यटन विभागको तथ्यांकअनुसार वैशाख १४ गतेसम्म ८ हजार ८४८.८६ मिटर सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ४६३ जनाले अनुमति लिएका छन्।
सगरमाथा आरोहण गर्नेमा चिनियाँ नागरिक धेरै छन्। त्यसपछि अमेरिका दोस्रोमा छ। विगतमा अमेरिकी नागरिक सबैभन्दा बढी हुने गरेका थिए।
वसन्त ऋतुको लागि २४ वटा हिमाल आरोहणको लागि अनुमति लिएकोमा सबैभन्दा बढी सगरमाथामै छन्। ४२ टिमका ३६७ पुरुष र ९६ जना महिलाले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन्। हालसम्म वसन्त ऋतुको लागि एक हजार ४६ जनाले आरोहण गर्न अनुमति पाएका छन्।
सगरमाथापछि ८ हजार ५१६ मिटरको ल्होत्से हिमाल आरोहण गर्ने धेरै छन्। तेस्रोमा ७४ जना ६ हजार ८१४ मिटरको अमादब्लाम आरोहण गर्दै छन्। त्यस्तै ८ हजार मिटर माथिको अन्नपूर्ण, मनास्लु, मकालु, धौलागिरी,कञ्जनजंघा हिमाल आरोहणको लागि अनुमति लिएका छन्।
२०२२ मा सगरमाथा आरोहण ३२५ जनाले अनुमति लिएका थिए। वसन्त ऋतुमा ९ सय ८६ जनाले अनुमति पाएका छन्।
सन् २०२१ मा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४३ टिमका ३१५ पुरुष र ९२ जना महिलाले आरोहण अनुमति लिएका थिए।
अधिकांश सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। महामारीको बीचमा बहरेनी राजपरिवार सदस्यसहित आरोहण गर्दा चर्चा भएको थियो।
२०२० मा कोभिड महामारीको कारण आरोहण आरोहीले अनुमति पाएनन्। कोभिड महामारीअघि सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०१९ मा ३७९ले सगरमाथा आरोहण अनुमति लिएका थिए। उक्त वर्ष ३० हिमालमा ८६८ जनाले आरोहण अनुमति पाएका थिए।
आरोहीको व्यवस्थापन कसरी हुन्छ?
पर्यटन विभागका निर्देशक युवराज खतिवडाले सगरमाथा आरोही संख्याको आधारमा सबैभन्दा धेरै रहेको बताए।
‘टिमको आधारमा होइन संख्याको आधारमा सबैभन्दा धेरैले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्’, निर्देशक खतिवडाले नेपालखबरसँग भने, ‘अधिकांश टिम सगरमाथा बेसक्याम्पमा पुगिसकेका छन्।’
सगरमाथाका आरोही धेरै हुँदा अव्यवस्थित भएको भन्दै आलोचना हुने गरेको छ। विभागले आरोहण गर्दा सकिने ठाउँमा २ वटासम्म रुट बनाउने प्रयास गरिरहेको बताएको छ।
‘आरोहण अव्यवस्थित नहोस् भनेर सकिने सबै ठाउँमा जाने र फर्किने २ वटा रुट बनाउन भनेका छौँ’, खतिवडाले भने, ‘बेसक्याम्पमै अनुगमन तथा सहजीकरण समिति छ। त्यसले आरोही धेरै हुँदा व्यवस्थापन गर्छ।’
उनले नेपालको कानुनीरुपमा अनुमति माग गर्ने सबैलाई दिनुपर्ने बताउँदै धेरै हुँदा रोक्न सक्ने व्यवस्था नभएको बताए। हिमाल र रुट एउटै भएकाले व्यवस्थापन गरेर जान सकिने बताए।
मार्च महिनामा करिब १ लाख विदेश पर्यटक हवाइमार्गबाट नेपाल भित्रिएका थिए। नेपालमा भित्रिने पर्यटकमा हिमाल आरोहणसँगै ट्रेकिङ, काठमाडौं, चितवन, पोखरा, लुम्बिनीमा घुम्नको लागि समेत आएका छन्। अप्रिलमा पनि पर्यटकको आवागमन उत्साहप्रद रहेको पर्यटन व्यवसायीले बताएका छन्।
लुक्लामा दैनिक ५० बढी उडान
वसन्त ऋतु सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका वायुसेवा कम्पनीहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक ५० बढी उडान समेत गरेका छन्।
तारा एअरको ट्विनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्दै आएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाइ ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका छन्।
मन्थलीबाट तारा एअरसहित समिट र सीताले पनि उडान गर्दै आएका छन्।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार बिहानै काठमाडौँबाट गाडीमा मन्थलीसम्म आएर मन्थलीबाट विमान चढेर एकैदिन लुक्ला पुगिने भएपछि विदेशी पर्यटक जाने गरेका छन्।
Shares
प्रतिक्रिया