ad ad

कारोबार


प्राधिकरणले सहजीकरण नगर्दा एनसेलका नेटवर्कमा ‘कन्जेस्चन’, सञ्चारको चाप बढ्यो

प्राधिकरणले सहजीकरण नगर्दा एनसेलका नेटवर्कमा ‘कन्जेस्चन’, सञ्चारको चाप बढ्यो

नेपालखबर
असोज १७, २०८१ बिहिबार १७:१८, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले सहजीकरण नगर्दा एनसेलको गुणस्तर खस्किरहेका बेला पछिल्लो समय भएको लगातारको वर्षा र बाढीले थप प्रभाव पारेको छ।

एनसेलको नेटवर्कमा कन्जेस्चन बढेको र फोनले काम नगरेको गुनासो बढेको हो। 

नेटवर्कमा कन्जेस्चन बढ्नु भनेको नेटवर्कले धान्नेभन्दा बढी डेटा प्याकेट ट्राफिक हुनु हो। पर्याप्त नेटवर्क ब्यान्डविथ नभएको एउटै नेटवर्कमा एकैपटक धेरै सञ्चार र डेटा रिक्वेस्ट हुँदा यसो हुने गर्छ।

सरकारले सटही सुविधा नदिँदा एनसेलले आफ्नो नेटवर्क सुधार र विस्तारमा काम गर्न पाएको छैन। सोही कारण ७०० वटा टावरको काम रोकिएको एनसेलले जनाएको छ।  

‘(गत) शुक्रबार र शनिबारको निरन्तरको वर्षातले एनसेलको ३६० भन्दा बढी टावरहरु डाउन भएका थिए। विशेष गरी बागमती र गण्डकी प्रदेशका टावर डाउन थिए’, एनसेलका एक अधिकारीले भने, ‘भारी वर्षात् र पहिरोले दर्जन बढी ठाउँहरुमा फाइबरहरु चुँडिएका थिए। त्यसमाथि विद्युत् आपूर्ति समेत रोकिँदा कतिपय टावरमा असर परेको थियो।’

निरन्तरको वर्षातपछि शनिबारको दिन सयौँ टावरहरु डाउन हुँदा एनसेलको सेवा पनि प्रभावित भएको थियो। कति टावरहरु अझै पनि डाउन नै रहेको एनसेलका ती अधिकारी बताउँछन्। 

नेपाल दूरसञ्चार प्राधिकरणले विगत १० महिनादेखि विदेशी मुद्रा स्वीकृति तथा सिफारिस रोकेको छ। एनसेलले सिफारिस रोकिँदा सेवा विस्तार, सुधारका कामहरु रोकिएको, ब्यान्डविथको भुक्तानी र विदेशी परामर्शदाताहरुलाई दिनुपर्ने भुक्तानी गर्न नसकेको जनाएको छ। 

‘यो बाढी पहिरोका घटनाहरुपछि एनसेलको नेटवर्कमा कन्जेस्चन झण्डै ३० प्रतिशतले बढेको छ भने ग्राहकका गुनासोहरु पनि दुई गुणाले बढेको छ’, ती अधिकारीले भने, ‘आपत् र विपतको बेलामा नभई नहुने अत्यावश्यक सेवाको हालत एकदमै खराब हुँदै गएको पाएको छु।’

प्राधिकरणले २१०० मेगाहर्ज फ्रिक्वेन्सीको दस्तुर चुक्ता नगरेको भन्दै सम्पूर्ण सहजीकरणका कामहरु रोकेको छ। कुनै पनि कामका लागि विदेशी मुद्रामा भुक्तानी गर्न एनसेलले पहिला प्राधिकरण, त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तिममा नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्दछ।

‘भुक्तानीका लागि एनसेलले कुनै पनि एलसी खोल्न पाएको छैन। न त टीटी नै गर्न सकेको छ’, उनले भने। प्राधिकरणले सटही सेवाका लागि सिफारिस रोकेपछि गत असारमा एनसेललाई इन्टरनेट सेवाका लागि ब्यान्डविथ प्रदान गर्ने टाटा कम्युनिकेसन्स इन्टरनेशनलले बक्यौता नतिरेको भन्दै ब्यान्डविथ दिन बन्द नै गरेको थियो। अहिले अर्को विदेशी ब्यान्डविथ सेवा प्रदायक कम्पनीबाट ब्यान्डविथ ल्याएर सेवा दिँदै आएको छ। 

आगामी दिनमा ब्यान्डविथसँग सम्बन्धित सेवाबापतको रकम समयमा भुक्तानी गर्न नसके अन्य ब्यान्डविथ आपूर्तिकर्ताबाट थप क्यापासिटी सटडाउन गर्नसक्ने सम्भावना रहेको र कम्पनीको सेवा नै अवरुद्ध हुनसक्ने अवस्था सिर्जना भएको एनसेलले प्राधिकरणलाई जानकारी गराएको छ। 

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई सरकारीको कम्पनीको तुलनामा भेदभाव गर्दै आएको कम्पनीको दाबी छ।

दूरसञ्चार प्राधिकरणले गुणस्तर कायम गर्न भूमिका खेल्नुपर्नेमा टावर थप गर्नसमेत विदेशी मुद्रा भुक्तानी रोक्दा सर्वसाधारण मारमा परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .