काठमाडौँ महानगरपालिकाको नयाँ पाठ्यक्रमअनुसार दरबार हाई स्कूलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयले परिसरमा तरकारी रोपेका छन्।
विद्यालयमा उत्पादित साग खान थालिएको छ भने खुर्सानी, भिण्डीजस्ता तरकारीका बिरुवामा फूल फुल्न थालेको छ। अरु बिरुवा हुर्किरहेका छन्।
विद्यालयको यो उत्पादन महानगरपालिकाले २०८० वैशाख १२ बाट माध्यमिक कक्षाका लागि कार्यान्वयनमा ल्याएको छोटो अवधिको सीपमूलक तालिमका लागि अवलोकन योग्य बनेको छ।
नमूना विद्यालयका लागि महानगरबाट प्राप्त अनुदानबाट दुवै विद्यालयले ५/५ लाख रुपैयाँ सहरी तथा कौसी तरकारी खेतीमा लगानी गरेका छन्। विद्यालयका प्रधानाध्यापक शिव अधिकारीकाअनुसार कम्पाउण्डको खाली ठाउँमा तरकारीका बिरुवा रोपिएका छन्।
खेतीका लागि काम गर्न विद्यार्थीहरुको समूह निर्माण गरिएको छ। परामर्शदाता तथा विज्ञहरुसँग सहयोग लिइएको छ। तरकारी रोप्नकै लागि भनेर २ वटा टावर निर्माण गरिएका छन्। एउटा टावरमा करिब ३५ वटा प्वाल छन्। ती हरेक प्वालमा तरकारीका बिरुवा रोपिएका छन्।
१ महिनामा तरकारी उत्पादन सुरु हुने रहेको छ। प्रधानाध्यापक अधिकारीले भने, ‘यहाँ उत्पादन भएको तरकारी छात्राबासमा प्रयोग गर्ने लक्ष्य छ। तरकारी विक्री गर्न सकियो भने यसबाट आएको रकम विद्यार्थी कल्याण कोष बनाएर संकलन गर्छौँ। यसबाट विद्यार्थीहरुको क्षमता विकासमा खर्च गर्छौँ।’
नमूना विद्यालयका लागि महानगरले यी २ वटा विद्यालय र क्षेत्रपाटीको कन्या माध्यमिक विद्यालयलाई चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ उपलब्ध गराएको छ।
सहरी तथा कौसी खेतीमा यो विद्यालयसँगै अन्य विद्यालयमा पनि विद्यार्थीहरुको रुचि देखिएको छ। बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयका ३० जना विद्यार्थीले गएको शुक्रबारबाट यस सम्बन्धी प्रशिक्षण लिन सुरु गरेका छन्।
कक्षा ९ मा ८५ जनाभन्दा धेरै विद्यार्थी रहेका छन्। उनीहरुमध्ये रुचिका आधारमा विद्यालयले सहरी तथा कौसी खेतीका लागि ३० जना विद्यार्थीहरुको समूह बनाएर तालिम दिइरहेका छन्।
विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित माटो, मल र बीउका प्रकार चिनाउने, उत्पादन बढ्ने वातावरण र तत्वका विषयमा जानकारी दिने, जैविक मल बनाउन सिकाउने लगायत सीप सिकाइन्छ। प्रविधिमा आधारित खेती, माटो र मलको मिश्रण, बिरुवाको हेरचाह, नर्सरी, बिरुवामा थाङ्ग्रा लगाउने विषयमा विद्यार्थीलाई सीप दिइनेछ।
महानगरले पुस्तक विहिन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरुले व्यवहारिक र जीवनउपयोगी सीप प्राप्त गर्न सक्नेछन्। विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो।
कक्षा ९ मा नमूनाका रुपमा थालिएको ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा हुन्।
विद्यार्थीहरुमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुनेछ। कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन्। हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ। विद्यालयले पठाएको प्रस्तावका आधारमा तालिम सञ्चालन गर्न महानगरले अनुदान रकम उपलब्ध गराइनेछ।
अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पठन पाठन भइरहेका छन्। बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने महानगरको शिक्षा नीति छ।
Shares
प्रतिक्रिया