लार्ज पेमेन्ट भ्यालु सिस्टम (आरटीजीएस) मार्फत हुँदै आएको विद्युतीय कारोबारबारे प्रश्न उठेको छ।
चेक र आरटीजीएसार्फतको भुक्तानी एकै समयमा हुने भएपछि विश्व बैंक र एसियाली विकास बैंकहरुले प्रश्न उठाएका हुन्।
आरटीजीएसको कारोबार फछर्यौटलाई लिएर दातृ निकायले प्रश्न उठाउन थालेका हुन् ।
नेपाल राष्ट्र बैंकले ठूलो परिमाणको कारोबारलक्षित आरटीजीएस प्रणाली सञ्चालनमा ल्याएको छ।
राष्ट्र बैंकले आरटीजीएसबाट हुने कारोबारको सीमा कायम नहुने गरी प्रणाली सञ्चालनमा ल्याएको हो ।
लार्ज पेमेन्ट भ्यालु सिस्टममा ठूला कारोबार पर्दछन् । यस्तो कारोबारको माथिल्लो सीमा नै नहुने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।
उनका अनुसार ठूला उद्यमी र व्यापारीले राज्यलाई १ अर्ब राजस्व आरटीजीएसबाट तिर्न सक्छन् । यस्तो पेमेन्टबाट मात्रै मासिक २४ खर्बको कारोबार हुने गरेको पौडेल बताउँछन् ।
आरटीजीएसबाट हुने कारोबारको फच्र्यौट कारोबार दोस्रो दिनमा मात्रै हुने गरेको अर्थमन्त्रालयका एक अधिकारी बताउँछन्।
‘रियल टाइम भुक्तानी हुनुपर्ने भए पनि चेक क्लियरेन्स हुनेजत्तिकै समय किन लागिरहेको छ। त्यो विषय आफैँमा गम्भीर छ। यदि चेक भुक्तानी जस्तै समय लगाउने भए हामीलाई यो प्रणाली किन आवश्यक पर्यो?’, ती अधिकारीले भने।
यसले गर्दा सरकारको भुक्तानी र आम्दानीमा अन्तर्राष्ट्रिय दातृ निकायले प्रश्न गरेका उनले बताए।
यस्तो प्रश्न उठिरहँदा आरटीजीएस कारोबारमा समेत गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
गत वर्ष हरेक महिना आरटीजीएसमार्फत औसत ३० खर्बको कारोबार हुन्थ्यो। अहिले घटेर औसत २० खर्बमा सीमित भएको छ ।
चालु आ.व.को वैशाख (एक महिना)मा मात्रै आरटीजीएसमार्फत २४ खर्ब २९ अर्ब रुपैयाँको कारोबार भएको छ।
गत वर्षको वैशाख महिनामा मात्रै ३९ खर्ब ९७ अर्बको कारोबार भएको थियो ।
रिटेल पेमेन्ट सिस्टमबाट हुने कारोबार बढ्दै जाँदा आरटीजीएस कारोबारमा उच्च गिरावट आएको छ ।
रिटेल पेमेन्ट सिस्टममार्फत हुने कारोबारमा प्रगति भइरहेको छ। यस सिस्टमभित्र वालेट, मोबाइल बैंकिङ, क्युआर कोड, इन्टरनेट बैंकिङ, कार्ड लगायत इन्स्टुमेन्ट पर्दछन्। यस्तो कारोबारको माथिल्लो सीमा तोकिएको हुन्छ।
चालु आ.व.को वैशाखमा मात्रै ८ करोड ५५ लाख २० लाख पटकको विद्युतीय कारोबारमा ३८ अर्बको लेनदेन भएको छ ।
जसमा आरटीजीएसबाट मात्रै २४ खर्ब २९ अर्बको कारोबार भएको छ । बाँकी मोबाइल बैंकिङ, क्युआर कोड, इन्टरनेट बैंकिङ, एटिएम कार्ड लगायत रिटेल पेमेन्ट सिस्टमबाट भएको छ।
रिटेल सिस्टमबाट हुने कारोबार बढ्दै जाँदा आरटीजीएसको कारोबार घटेको पौडेल बताउँछन्।
उनका अनुसार पछिल्लो समय व्यवसायमा देखिएको सुस्तताका कारण राजस्व घट्न गई आरटीजीएरको कारोबार समेत घटेको हो।
‘यो वर्ष आयात निरन्तर घटेको छ’, उनले भने, ‘आयात घट्दा व्यापार, व्यवसाय घट्न पुग्यो। व्यापार व्यवसाय घट्दा राजस्वमा कमी आई आरटीजीएस कारोबारमा गिरावट आएको हो।’
आरटीजीएसको कारोबार भेरिफाई गर्न समय लाग्ने गरेकाले फच्र्यौटमा समय लाग्ने गरेको पौडेल बताउँछन्।
‘आरटीजीएसबाट हुने कारोबार भोलुम ठूलो हुन्छ’, उनले भने, ‘ठूलो कारोबार हुँदा त्यसलाई भेरिफाई गर्नु पर्छ। भेरिफाई गर्न केही समय लाग्ने गरेकाले यस्तो कारोबार फच्र्यौट हुन समय लाग्छ।’
Shares
प्रतिक्रिया