ad ad

कारोबार


बचतकर्तालाई बालेनले भने- सहकारी बैंक होइनन्, निरन्तर निगरानी राख्नुपर्छ

बचतकर्तालाई बालेनले भने- सहकारी बैंक होइनन्, निरन्तर निगरानी राख्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार ९:१४, काठमाडौँ

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले सहकारी संस्था बैंक नभएको हुँदा  सहकारी सुशासनका लागि सदस्यहरूको निरन्तर निगरानी राख्नुपर्ने बताएका छन्।

उनले सामाजिक संजालमा 'वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई संकटग्रस्त हुनबाट बचाऔँ' भन्दै उक्त सन्देश दिएका हुन्।

पछिल्लो समय सहकारी समस्या बढ्दै गएको छ। समस्या बढदै जाँदा बालेनले बचतकर्ता समेत सचेत हुनुपर्ने बताएका हुन्।

यतिबेला काठमाडौं महानगरभित्र मात्रै ३०० भन्दा बढी सहकारी समस्या छ्न।

उनले सहकारी र बचतकर्तालाई गरेको अनुरोध
वस्तु र सेवाहरूको मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेका छन्। तरलताको अभाव सृजना भएको सर्वविदितै छ।  

महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ।

यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु। 

यसका लागि कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गरौँ। 

सहकारी संस्थाहरूमा अनुरोध 
-तोकिएको समयमा  सबै शेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवारबारे जानकारी गराउनुहोला। विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रुपले शेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउनुहोला।
-तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्नुहोला।
-वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्नुहोला। 
-परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरूमा लगानी नगर्नुहोला।
-शेयर सदस्यहरूलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्नुहोला। 
-सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको नियमित रुपले संस्थासँग कारोवार भएको व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिनुहोला। 
-कानुनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्नुहोला।
-कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेस गर्नुहोला। 
-ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण र एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्क सहितको फाराम भराई अवधि तोकेर मात्र प्रवाह गर्नुहोला।
-जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नुहोला। जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नुहोला। 
-राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिल अध्ययन गरी लागू गर्नुहोला। -आफ्ना शेयर सदस्य र बचतकर्ताहरूलाई नियमित सहकारी शिक्षा प्रदान गर्नुहोला। 

सदस्यरबचतकर्ताहरूलाई अनुरोध 
सहकारी संस्थाहरू बैंक होइनन्। यी संस्थाहरू सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण हुन्छन्। सहकारी सुशासनका लागि सदस्यहरूको निरन्तर निगरानी आवश्यक छ।  
-सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुनुहोला। संस्थाको कारोवारको बारेमा नियमित रुपले जानकारी लिनुहोला।
-नियमित साधारण सभा नगर्ने सहकारीहरूको बारेमा विभागमा जानकारी गराउनुहोला।
-सञ्चालक समितिका पदाधिकारीहरूको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिनुहोला।
-बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्नुहोला।
-सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्था बारे जानकारी लिनुहोला। 
-कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्नुहोला। 
-सञ्चालक समितिका पदाधिकारीहरूको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्नुहोला, नियमित संवाद र सम्पर्क राख्नुहोला। 
-आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिनुहोला।
-ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्नुहोला।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .