ad ad

कारोबार


चन्दाबाटै २ करोडको गुम्बा

चन्दाबाटै २ करोडको गुम्बा

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा निर्माणाधीन गुम्बा


नेपालखबर
साउन २२, २०८० सोमबार १९:३६, ताप्लेजुङ

विभिन्न दातासँग सहयोग सङ्कलन गरेर तोक्पोगोलामा गुम्बा निर्माण थालिएको छ। समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण थालेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए। उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा थियो तर मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएपछि नयाँ गुम्बा बनाउन स्थानीय जुटेका हुन्। 

गुम्बा निर्माण लागत रु दुई करोड बजेटमा सम्पन्न हुने निर्माण समितिले जनाएको छ। तोक्पेगोलामा जन्मिएर रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका व्यक्तिले ठूलो सहयोगमा गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको स्थानीयको भनाइ छ। तोक्पेगालामा जन्मिएर अमेरीका पुगेकाले सहयोग सङ्कलन गरेर रु ४५ लाख पठाएपछि गुम्बा निर्माण प्रक्रिया सुरुआत भएको निर्माण समिति अध्यक्ष शेर्पाले बताए। उनका अनुसार गुम्बा निर्माण गर्न एक जर्मनी नागरिक समेतले रु आठ लाख सहयोग उपलब्ध गराएका छन्। 

मिक्वाखोला गाउँपालिकाबाट रु २१ लाख उपलब्ध भएको निर्माण समितिले जनाएको छ। गुम्बा निर्माणका लागि अनुमानित रु दुई करोड लागत भए पनि अहिले रु २५ लाख ऋण रहेको निर्माण शेर्पाले जानकारी दिए। निर्माण कार्यमा कार्यरत मजदुरका लागि ज्याला दिनबाहेक आवश्यक सामग्री खरिदमा भएको खर्च रु २५ लाख ऋण रहेको उनले बताए। 

गुम्बामा राखिने गौतमबुद्धका प्रतिमा भिन्न दाताबाट जम्मा भएको छ। रु आठ लाखका तीनवटा प्रतिमा, रु आठ लाख ५० हजार र रु पाँच लाख ५० हजारका एक/एक गौतमबुद्धका प्रतिमा दाताबाट उपलब्ध भएका छन्। अन्य आवश्यक पुस्तक र सामग्रीसमेत दाताबाट उपलब्ध भएको छ। 

समितिका अनुसार यसै आउँदो आर्थिक वर्षको साउनमा गुम्बाको उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ। गुम्बा नियमित पूजापाठ, मन्त्र जपका लागि  लामा व्यवस्थापन गर्न छुट्टै कोष स्थापना गर्ने योजना रहेको निर्माण समिति अध्यक्ष शेर्पाले बताए। उनले भने, ‘गुम्बामा लामा व्यवस्थापन गर्नका लागि देश विदेशमा बसोबास गर्ने दातासँग समन्वय भइरहेको छ। गाउँपालिकाले पनि सहयोग गर्दछ भन्नेमा विश्वास लिएका छौँ।’

तोक्पेगोला क्षेत्रका स्थानीय गुम्बा निर्माण निकै महत्त्वपूर्ण रुपमा लिएका छन्। तोक्पेगोला बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन्। स्थानीय ढोक्प्या जाति भनिए पनि सीमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ। झुरुप्प घर। काठले छाएको छानो। भोटे झ्याल। टाढाबाट देख्नेबित्तिकै लाग्छ- यो ठाउँ उत्सव स्थल पो हो कि! किनकि घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ। गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्त्व झल्काउँछ। हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो। 

ताप्लेजुङको पर्यटकीय गन्तव्यमध्ये तोक्पेगोला क्षेत्रको पनि ठूलो स्थान छ। तोक्पेगोला बस्तीनजिकै सोदु पोखरी छ। सोदु पोखरी एक धार्मिक महत्त्व बोकेको एक पोखरी हो। प्रत्येक वर्ष सोदु पोखरीमा पूजापाठ गर्न जाने धार्मिक पर्यटकको पनि सङ्ख्या बढ्दै गएको तोक्पेगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए। 

तोक्पेगाला बस्तीमा गुम्बा निर्माण हुनुलाई धार्मिक प्रतिष्ठाको रुपमा हेरिएको मिक्वाखोला –५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। गुम्बा निर्माण सम्पन्न गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ छ। 

गम्बामा धर्मग्रन्थ र विशिष्ट धर्म गुरुको भनाइअनुसार गुरु पध्मसम्भवलाई सझिने वा उनको मन्त्र उच्चारणमात्र गर्नाले पनि विघ्नबाधा हट्नाका साथै असीम पुण्य सञ्चय गर्न सकिने जनविश्वास छ। अझ उनको थाङ्का वा प्रतिमा नै स्थापना गर्न सकियो भने त्यसको प्रभवले समस्त प्राणिको उद्धार, पूर्वजन्मको कुकर्मको प्रायश्चित, मानव जीवन सुन्दर, विघ्न बाधारहित शान्तिमय हुने, विश्वमा शान्ति फैलिने र मोक्ष प्राप्त गर्न सकिने जनविश्वास छ। 

भौगोेलिक/भौतिक दृष्टिकोणबाट पनि यस स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा परिचित गराउने उद्देश्यले गुम्बा स्थापना गरी निरन्तर रुपमा धर्मीक कार्य सञ्चालन गर्नुका साथै आवश्यक संरचना निर्माण गर्दै आइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .