ad ad

कारोबार


बाढी पहिरोबाट सडक पूर्वाधारमा साढे २ अर्बको क्षति, कुनको अवस्था कस्तो?

बाढी पहिरोबाट सडक पूर्वाधारमा साढे २ अर्बको क्षति, कुनको अवस्था कस्तो?

सुनकोसी नदीमा आएको बाढीले आधा भाग बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोटस्थित पक्की पुल (रासस)


नेपालखबर
असोज १५, २०८१ मंगलबार १२:२५, काठमाडौँ

सडक विभागले केही दिनअघिको बाढी र पहिरोबाट सडक पूर्वाधारमा साढे २ अर्बको क्षति भएको जनाएको छ।

विभागले सडक, बेलिब्रिज र पुलतर्फ गरी २ अर्ब ५२ करोडको क्षति भएको प्रारम्भिक विवरण निकालेको हो। 

सडकतर्फ २१ हजार ५०० मिटर सडकमा क्षति पुग्दा करिब १ अर्ब ५० करोड रुपैयाँ नोक्सान भएको अनुमान छ।

त्यस्तै २०० मिटरका बेलिब्रिज बग्दा २९ करोड र ४१० मिटरका पुल बग्दा ८२ करोड रुपैयाँको क्षति भएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए। 

विभागका अनुसार हाल १४ वटा राजमार्गका ४२ स्थानमा सडक अवरुद्ध भएको छ। मुख्य अवरोध हुने सडकहरुमा अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल, मेची, मदन भण्डारी कालीगण्डकी करिडोर लगायत छन्। 

बाढीले ५ वटा पुलमा क्षति भएको छ। खुर्कोटको सुनकोशीपुल, सिन्दूरेटार, फोक्सिङटार, अरनिको राजमार्गको लिपिङ र इलामको माइपोखरी सडकको राते खोला पुलमा क्षति भएको छ भने लार्चा र हेवा खोलाका २ वटा बेलिब्रिज बगाएको छ। 

सडक विभागले पृथ्वी राजमार्ग नौबीसे-मुग्लिङ खण्डको विभिन्न स्थानमा पहिरो हटाएर एकतर्फी खुल्ला भएको छ। त्रिभुवन राजपथ अवरोध खुलाई यातायात सञ्चालन भएको, रसुवागढी सडक अवरोध हटाई सञ्चालनमा ल्याइसकेको छ। 

बीपी राजमार्गको धुलिखेलबाट भकुण्डेबेसीतर्फ २१ किमिमा सडक खोलिसकेको, भकुन्डेबेसीबाट नेपाल थोकसम्म २ किमि सडकमा क्षति भएको र नेपालथोकबाट बर्दिबास खण्डमा सडक सञ्चालनमा रहेको छ। भकुन्डेदेखि नेपालथोक खण्ड नयाँ ट्रयाक खोल्न १ लोडर, ५ ब्याकहो, १ एक्स्काभेटरले काम गरिरहेको र २ एक्स्काभेटर र १ लोडर जनकपुरबाट हिँडेको जनाएको छ। 

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथको मकवानपुर खण्डको हेटौडा-ठिंगन खण्डको ४० किमि सडक सञ्चालनमा आएको छ। बगुवा पुल दायाँ एप्रोच सडक क्षतिग्रस्त भएको छ। करिब १ किमि सडक खण्ड खुलाउन उपकरण प्रयोग भएका छन्। 

छपेली बालुवासम्म ६ किमि अवरोध हटाउन काम गरिरहेको बताउँदै बाटो नै बगाएको ठाउँमा नयाँ ट्र्याक खोल्दै छ।

छपेलीदेखि टीकाभैरवसम्म २२ किमिमध्ये मल्ल होटलनजिकै सडक बगाएकाले निर्माणको काम भइरहेको छ। सडक विभागले असोज १६ गतेसम्म कान्तिलोकपथ पूर्ण रुपमा खुलाउने जानकारी दिएको छ। 

अरनिको राजमार्गको १०८ किमि यातायात सुचारु भएको छ। लार्चाको बेलिब्रिज बगाएको छ। लार्चादेखि लिपिनसम्म २ वटा पुलहरु बगाएको छ। लार्चामा हाइड्रपावरको पाइप राखी यातायात खोल्ने तयारी भइरहेको छ भने लिपिङ पुल पुनर्स्थापना हुन केही समय लाग्ने महानिर्देशक पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .