मध्यपाहाडी राजमार्गको ठेक्का लिएर समयमै काम नगर्ने तीनवटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
३ वटा ठेक्का अलपत्र पारेका ३ वटा निर्माण कम्पनी ३ वर्षसम्मको लागि कालोसूचीमा परेका हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक विभागको सिफारिसमा ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
राजमार्ग योजना कार्यालय फिदिमले राजिव गुर्गा मुख्य व्यक्ति रहेको भरत कन्स्ट्रक्सन, मदन कुमार अधिकारी मुख्य व्यक्ति रहेको मैनाचुली निर्माण सेवा र दिपेन्द्र बहादुर शाहीको सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षकोलागि कालो सूचीमा राखेको छ।
भरत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी पनि ३ वर्षको लागि कालोसूचीमा परेको छ। मध्यपाहाडी राजमार्गकै अर्को ठेक्कामा मैनाचुली–सिद्धि साई जेभी २ वर्षको लागि कालोसूचीमा परेको अनुगमन कार्यालयले जनाएको छ।
त्यस्तै झापाको कमल गाउँपालिकाले शेर्पा, हेना र सुनामी कन्स्ट्रक्सनलाई १ वर्षको लागि कालोसूचीमा राखेको छ।
धादिङको धुनिवेसी नगरपालिकाले कार्साङ कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई १ वर्ष र जुम्लाको चन्दनाथ नगरपालिकाको सिफारिसमा इजोन निर्माण सेवालाई १ वर्षको लागि कालो सूचीमा राखिएको छ।
‘सार्वजनिक खरिद ऐन २०६३को दफा ६३ को उपदफा १ बमोजिम निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउने छैनन,’ खरिद अनुगमन कार्यालयका एक अधिकारीले भने।
Shares
प्रतिक्रिया