उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारहरु राष्ट्रका धरोहर भएपनि राज्यबाट प्रयाप्त लगानी हुन नसकेको बताएका छन्।
नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले कलाकारहरुको सम्मानमा राज्यस्तरबाट कमि भएको बताएका हुन्। उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहन गर्न पनि सरकारको ध्यानाकर्षण गरे।
संगीतका अनेक परिभाषा भएपनि यो मानवजाती र प्राणिजातीका लागि समेत अभिन्न अंग बनेको उनले बताए। हरेक मान्छेको दुःख—सुख, पीडा र हर्षमा समेत संगीत गुञ्जिरहने भन्दै उपराष्ट्रपति पुनले संगीतबीनाको जीवन कल्पना गर्न नसकिने बताए।
समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा. समर बहादुर मल्ललाई सम्मानित गरिएको छ। मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो। त्यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सम्मानित भएका छन्। सम्मानित हुनेमा जगतमर्दन थापा, कर्म योञ्जन, मोहनकृष्ण ढली र सिके रसाईली रहेका छन्।
त्यसैगरी भारती उपाध्याय, तिर्थ कुमारी थापा, शम्भु राई र मिलन मोक्तान नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट सम्मानित भएका छन्। त्यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई प्रदान गरीएको छ। ११ हजार १११ राशीको यो पुरस्कार प्रमोद ढुंगाना, यम बराल, रेखा शाह र सुरेश अधिकारीलाई प्रदान गरिएको हो। नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कारबट मनराजा नकर्मी, भुपेन्द्र खड्का, टिका प्रसाई र प्रल्हाद तिमिल्सिनालाई प्रदान गरिएको छ।
Shares
प्रतिक्रिया