‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ। नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक मञ्चनसहित विविध कार्यक्रम हुँदै छ।
शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्यान्ड’ मञ्चन हुँदै छ। ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिको वरिपरि घुम्छ। कथा अगाडि बढ्दै जाँदा उनीहरुबीचको मतभेद र भिन्नताले द्वन्द्व निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन्। ‘ब्ल्याकबोर्ड ल्यान्ड’ मध्याह्न १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदै छ।
त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदै छ। यो सांगितिक तथा शारीरिक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ।
किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?
शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा छ। रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ। रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदै छ।
चौतारी नाटक र साङ्गितिक कविता
शुक्रबार नै नेपाल र भारतको कलाकार मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदै छ। यसमा दर्शकले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन्। दर्शकले सुनाएका सन्दर्भलाई कलाकार तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन्।
त्यस्तै साँझ ७:३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ।
Shares
प्रतिक्रिया