एमजीआर तमिल फिल्मका सुपरस्टार थिए। उनी तमिलनाडुका मुख्यमन्त्री पनि थिए। उनको फ्यान फलोइङले संसारलाई चकित पारेको थियो। फिल्म स्टारका लागि फ्यान यति धेरै पागल हुन सक्छन् भन्ने कुरा उनका फ्यानले उनको समयमा देखाएका छन्।
एमजीआर अभिनेता हुँदा उनको फिल्मले रेकर्ड तोड्ने गर्दथ्यो। राजनीतिमा प्रवेश गरेपछि उनी मुख्यमन्त्री भए । उनका फ्यानहरूले उनलाई चमत्कारी ठान्थे, फ्यानहरूले एमजीआर बाँझो जमिनमा उभिए भने उर्वर बन्छ भन्ने सोच्थे। यसकारण धेरैले बाँझो जमिनलाई हरियाली बनाउन उनलाई आफ्नो ठाउँमा बोलाउँथे।
सन् १९८४ मा एमजीआरको मिर्गौला फेल भयो। उनलाई हृदयाघात पनि भयो र स्ट्रोकका कारण अवस्था नाजुक भयो। उनलाई उपचारका लागि न्युयोर्क लगिएको थियो। एमजीआरको अवस्था बिग्रँदै गएको खबर थाहा पाएपछि १३ जना फ्यानले आत्महत्या गरेका थिए। एमजीआरलाई यस्तो अवस्थामा देख्नु पनि फ्यानलाई मान्य थिएन। मास हिस्टेरियाका धेरै केसहरू थिए। सोही क्रममा सयभन्दा बढी फ्यानले अस्पताल र घरघरमा टेलिग्राम पठाएर मिर्गौला दान गर्ने इच्छा व्यक्त गरेका थिए।
उनलाई फ्यानहरुले टेलिग्रामहरूमा डाक्टरहरूलाई धम्कीसमेत दिएका थिए। उनीहरुले भनेका थिए- ‘एमजीआरलाई बचाउनु भएन भने अस्पतालले त्यसको नतिजा भोग्नुपर्नेछ।’
सन् १९८७ मा उनको मृत्यु भयो। ७० वर्षका एमजीआरको निधनको खबरले सम्पूर्ण तमिलनाडुलाई हल्लाएको थियो। उनको मृत्युको खबर सुनेपछि ३० जना फ्यानले आत्महत्या गरेको थिए। लाखौं मानिस उनको शोकमा सडकमा उत्रिएका थिए।
उनको मृत्युमा मानिसहरू यति दुःखी भए कि तिनीहरूले शोक र क्रोध एकैपटक देखाएका थिए। पीडामा उनका फ्यानले पसल, बस, सवारीसाधन जलाए। यस दंगामा २९ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी गम्भीर घाइते भएका थिए।
यो दंगा रोक्न सरकारले गोली हान्ने आदेश जारी गर्नुपरेको थियो। एमजीआरको यो अन्त्येष्टि अझै पनि शताब्दीको सबैभन्दा हिंसात्मक अन्त्येष्टि मानिन्छ।
Shares
प्रतिक्रिया