ad ad

कला


पूर्वपत्नी आलियाले ‘ब्ल्याकमेल’ गरिरहेको नवाजुद्दिनको आरोप, ‘मेरा छोराछोरी बन्धकमा छन्’

पूर्वपत्नी आलियाले ‘ब्ल्याकमेल’ गरिरहेको नवाजुद्दिनको आरोप, ‘मेरा छोराछोरी बन्धकमा छन्’

नवाजुद्दिन सिद्दिकी


नेपालखबर
फागुन २३, २०७९ मंगलबार ११:१५, काठमाडौँ

अभिनेता नवाजुद्दिन सिद्दिकीले पूर्वपत्नी आलियाले लगाएको आरोपबारे पहिलोपटक मुख खोलेका छन्। नवाजले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन्, ‘मेरो मौनताका कारण म जताततै गलत साबित भएको छु। म धेरै दिन शान्त थिएँ किनभने मेरा बच्चाहरूले यो पूरै नाटक कतै पढेको हुनुपर्छ।’

उनी अगाडि लेख्छन्, ‘कसैलाई थाहा छ? मेरा बच्चाहरू भारतमा पछिल्लो ४५ दिनदेखि बन्धकमा छन् र विद्यालय जान पाएका छैनन्। उनीहरु लामो समयदेखि विद्यालय गएका छैनन् भन्ने चिठ्ठी मलाई दिनहुँ विद्यालयले पठाइरहेको छ।’

उनले लामो पोस्ट गर्दै पूर्वपत्नी आलियासँगको आफ्नो सम्बन्ध, छोराछोरी र आफूविरुद्ध लागेका सबै आरोपको विवरण दिएका छन्। 

नवाजका अनुसार उनी र आलिया  धेरै वर्षदेखि सँगै बसेका छैनन् र बच्चाहरूका कारण मात्रै जोडिएका छन्।

नवाजले लामो समयदेखि सँगै नरहेको तर बच्चाहरुका कारण केही नबोलेको बताएका छन्।

लेखेका छन्, ‘म र आलिया केही वर्षदेखि सँगै बस्दैनौँ। हाम्रो सम्बन्ध-विच्छेद भयो, तर सन्तानको खातिर मात्रै जोडिएका थियौं। सामाजिक सञ्जाल प्लेटफर्म, प्रेस र केही व्यक्तिहरूको समूहले मेरो चरित्र हत्यालाई एकतर्फी रूपमा र भिडिओहरूमार्फत आनन्द उठाए।’

उनले बच्चाहरुका लागि मुम्बईको वर्सोवामा एउटा सी फेसिङ अपार्टमेन्ट पनि लिएको बताएका छन्। उनले बच्चाको राम्रो पालनपोषणका लागि २ वर्षदेखि हरेक महिना १० लाख रुपैयाँ दिने गरेको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘जब उनी मेरा छोराछोरी लिएर दुबई जान्थिन्, मैले उनलाई स्कुलको शुल्क, मेडिकल र यात्रा खर्चबाहेक हरेक महिना ५–७ लाख रुपैयाँ पठाउँथें।’

नवाजले आलियाका ३ फिल्ममा लगानीसमेत गरेको बताएका छन्। उनले लेखेका छन्, ‘मैले उनका फिल्ममा करोडौं लगानी गरेको छु। किनकि उनी मेरा छोराछोरीकी आमा हुन्।  बच्चाहरुका लागि एउटा लक्जरी कार पनि दिइएको थियो तर आलियाले त्यसलाई बेचेर सबै पैसा आफैं खर्च गरिन्।’

आलियाले पैसाका लागि मात्रै आफू र आमालाई विभिन्न आरोप लगाएको नवाजले बताएका छन्। उनले यसअघि पनि यस्तै प्रकारका आरोप लगाएर मुद्दा दायर गरेको तर पैसा पाएपछि मुद्दा फिर्ता लिएको उनको आरोप छ।

आफूले आज गरिरहेको कमाइ र काम छोराछोरीका लागि मात्रै भएको उनले उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘जब मेरा बच्चाहरू छुट्टीमा भारत आउँछन्, तिनीहरू सधैं हजुरआमासँगै बस्छन्। उनीहरूलाई कसैले कसरी घरबाट निकाल्न सक्छ? त्यो बेला म आफैं घरमा थिइनँ। यदि यस्तो हो भने आलियाले घरबाट निकालिँदाको भिडिओ किन गरिनन्?’

बच्चालाई बीचमा ल्याएर आलियाले आफूलाई ब्ल्याकमेल गरिरहेको आरोप नवाजले लगाएका छन्। 

नवाजले नोटको अन्त्यमा लेखेका छन्, ‘कुनै पनि अभिभावक आफ्ना छोराछोरीले पढाइ गुमाएको वा उनीहरूको शिक्षामा असर पर्ने कुनै पनि कुरा चाहँदैनन्। तिनीहरू सधैं आफ्ना छोराछोरीलाई संसारको सबैभन्दा राम्रो चिज दिन प्रयास गर्छन्। आज मैले जे कमाएको छु, त्यो सबै मेरा दुई सन्तानको हो र यसलाई कसैले परिवर्तन गर्न सक्दैन। म शोरा र यानीलाई धेरै माया गर्छु र तिनीहरूको सुरक्षाका लागि म भविष्यमा जुनसुकै हदसम्म जान सक्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .