उपेन्द्र सुब्बा बलियो आलोचनात्मक चेत राख्ने लेखक हुन्। उनी सार्वजनिक कार्यक्रममा थोरै बोल्छन्। साथीभाइका प्रश्नका अधिकांश जवाफ पनि हाँसोमा दिन्छन्।
उनले आफ्नो यही स्वभावलाई फिल्ममा उतारेका छन्। उनको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’मा उपेन्द्रले त्यही साइलेन्ट प्रेमको कथा प्रस्तुत गरेका छन्।
हिट फिल्म ‘कबड्डी’का लेखक सुब्बा आफ्नो फिल्मको प्रिमियरमा भनिरहेका थिए, ‘सिनेमा लेख्न मात्रै सजिलो रहेछ, बनाउन त साह्रै गाह्रो।’
उनले अगाडि भन्दै गए, ‘चलचित्र लेख्न गाह्रो। लेखेपछि बनाउन गाह्रो। बनाएपछि प्रदर्शन गर्न गाह्रो। प्रदर्शनपछि शो पाउन गाह्रो। शो पाएपछि दर्शक आउलान् नआउलान् भन्ने चिन्ता। म अहिले चिन्तै चिन्तामा छु।’
निःसन्तान दम्पतीको जिन्दगीका उतार–चढाव फिल्म ‘जारी’को कथा हो। नाम्साङ (दयाहाङ राई) र हाङमा (मिरुना मगर)को बिहेको ५ वर्षसम्म पनि सन्तान हुँदैनन्। प्रेमिल जीवन बाँचिरहेका नाम्साङ र हाङमाको सम्बन्धमा नि:सन्तानपनले दरार ल्याएको छ।
चिसिइरहेको सम्बन्धमा भनाभन हुँदा एकदिन हाङमाले प्रतिकार गर्छिन्, प्रतिप्रश्न गर्छिन्। त्यसपछिको कथा ‘जारी’को समग्र प्लट हो।
फिल्मभरी कवि उप्रेन्द्र सुब्बाको कवितात्मक लय भेटिन्छ। फिल्ममा लिम्बू समुदाय, पालम गाउने संस्कार, च्याब्रुङ बजाउँदै जीवन काट्ने जीवनशैली, तानेर विवाह गर्नेदेखि बाजी हार्न नसकेर बिहे गर्नुपर्ने बाध्यकारी संस्कारलाई कलात्मक रुपमा देखाइएको छ।
ठाउँ ठाउँमा प्रयोग भएको लिम्बू भाषा अरु भाषीलाई बुझ्न समस्या हुन्छ। तर नबुझेरै पनि रमाइलो लाग्छ। जीवनका सामान्य कुरालाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ जारीमा। फिल्म हेरिरहँदा कविता पढिरहेझैँ लाग्छ।
फिल्ममा सबैभन्दा सबल पक्ष मिरुना र दयाहाङको केमेस्ट्री देखिन्छ। मुख्यत: यही जोडीको जीवनको उतार चढावमा रुमलिएको ‘जारी’मा अन्य सहायक पात्रले पनि उस्तै सशक्त भूमिका निर्वाह गरेका छन्। फिल्मको सहायक भूमिकामा देखिएका विजय बरालले चटनीको काम गरेका छन्।
फिल्ममा देखाइएको साइलेन्ट प्रेमको कथाले दर्शकको मन च्वास्स घोच्छ। यसमा उपेन्द्रको मेहनत देखिन्छ। फिल्मभित्रका कुनै पनि सिन झारा टार्ने हिसाबले मात्रै खिचिएका छैनन्।
फिल्मका हरेक कलाकारले अभिनयभन्दा पर सिनेमा बाँचेका छन्। सिनेमाको दोस्रो भागमा नाम्साङ (दयाहाङ) र हाङमा (मिरुना)को प्रेम जसरी विकसित हुन्छन् त्यसले दर्शकलाई छुन्छ र भावुक पनि बनाउँछ।
‘जारी’ लिम्बू समुदायको संस्कृतिको कथा हो। महिलाप्रधान समुदायको कथाभन्दा पनि निर्देशक/लेखकले फिल्ममा महिलाका पीडालाई नै धेरै ठाउँ दिएका छन्। निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायको ‘जारी’ प्रथाले घरमा हेलाहोचो भएका छोरीलाई माइतीले संरक्षण दिने प्रचलन हो भनेका थिए।
तर फिल्ममा ‘जारी’ तिर्न नसकेपछि पूर्वश्रीमानको घरमा नोकर बस्न हाङमा (मिरुना) आएको प्रसंगले दर्शकको मनमा प्रश्न उठ्न सक्छ।
गैरलिम्बू समुदायका दर्शकमा फिल्म हेरिरहँदा पर्न सक्छ ‘लिम्बु समुदायमा जारी तिर्न नसक्दा नोकर बनाएर राख्ने चलन रहेछ।’ यसरी हेर्दा सुब्बा आफ्नै समुदायको कथा स्पष्ट रुपमा भन्न भने चुकेका छन्।
‘जारी’ एक प्रथामाथिको फिल्म भनिएपनि मुख्यतः मायाप्रेमको कथा बुनिएको छ। फिल्ममा प्रेमले जितेको कथा भनिएको छ।
प्रेम जित्नका लागि खुकुरी उज्याउनेदेखि रुँदै ख्याली गाएको प्रसंग जोडिएको छ। लिम्बू संस्कृतिमाथि बनेको ‘जारी’ अन्य समुदायका दर्शकको आँखामा बिझाउँदैन। यो खतराबाट उपेन्द्रले फिल्मलाई कुशलतापूर्वक बचाएका छन्।
यो उपेन्द्रको सवल पक्ष हो।
प्रथामा प्रेम जोडेर उपेन्द्रले फिल्मलाई लिम्बू समूदायमा मात्रै सीमित हुने खतराबाट बाहिर निकालेका छन्।
सम्बन्ध र प्रेमको कथा भन्दै गर्दा उपेन्द्र कलाकारको जीवनमा देखिएको ठूलो उतार–चढावको कारण भन्न भने चुकेका छन्। सामान्य भनाभनका कारण बिग्रिएको सम्बन्ध बिनाकारण सुमधुर बनाएको देखिन्छ। तर फिल्ममा दुर्बलभन्दा सबल पक्ष धेरै छन्।
सिनेमेटोग्राफीमा शैलेन्द्र डी कार्की अब्बल देखिएका छन्। उनले निर्देशकलाई कथा भन्न भरपुर सहयोग गरेका छन्। फिल्ममा बिम्बका रुपमा प्रयोग भएका थारो भैँसी, गाई र बाछोले फिल्मलाई सुन्दर बनाउन सहायक भूमिका खेलेका छन्। ब्याकग्राउन्ड स्कोरमा स्थानीयता झल्किँदा फिल्मको कथा थप सुन्दर बनेको छ।
फिल्म लेखनमा आफूलाई अब्बल साबित गरेका उप्रेन्द्रले निर्देशकका रुपमा पनि आफूलाई प्रमाणित गर्ने प्रयास गरेका छन्। बोलीचालीका शब्द उनेर हँसाउँदै समाजको कथा भन्ने उपेन्द्रको मौलिकपन निर्देशनमा पनि देखिएको छ।
Shares
प्रतिक्रिया