ad ad

कला


पुरस्कार दिन चलचित्र विकास बोर्डले माग्यो आवेदन, कस्तो हुनुपर्छ फिल्म?

पुरस्कार दिन चलचित्र विकास बोर्डले माग्यो आवेदन, कस्तो हुनुपर्छ फिल्म?

नेपालखबर
बैशाख ११, २०८० सोमबार २०:१४, काठमाडौँ

चलचित्र विकास बोर्डले २३औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्न पछिल्ला दुई वर्षभित्र रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ। 

साथै, विशेष चलचित्रको प्रतिस्पर्धाका लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ। राष्ट्रिय चलचित्र पुरस्कारमा सहभागी हुन २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भई प्रदर्शनसमेत भएको हुनुपर्ने र विशेष चलचित्रको हकमा भने २०७८ वैशाख १ देखि २०७९ चैत मसान्तभित्र जाँचपास भएका चलचित्रहरुले सहभागिता जनाउन सक्ने बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए। 

आदिवासी, जनजाति एवं विभिन्न मातृभाषाका चलचित्रको हकमा भने उक्त समयसीमाभित्र जाँचपास मात्र भएको भए पनि राष्ट्रिय पुरस्कारमा सहभागी हुन सक्नेछन्। राष्ट्रिय पुरस्कारमा सहभागी हुन २०८० वैशाख ३० गतेभित्र र विशेष चलचित्रको प्रतिस्पर्धामा सहभागी हुन २०८० वैशाख २४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। विभिन्न कारणले गत वर्ष पुरस्कार प्रदान तथा विशेष चलचित्र घोषणा हुन सकेको थिएन। यसपटकको राष्ट्रिय चलचित्र पुरस्कारमा दुई वर्षका चलचित्रहरुले एकसाथ प्रतिस्पर्धा गर्नेछन् भने विशेष चलचित्र दुई फरक वर्षका तीन–तीनवटा चलचित्रहरु गरी छवटा घोषणा हुनेछन्। 

‘कला, संस्कृति, परम्परा, मानवीय संवेदना, मनोविज्ञान, राष्ट्रिय स्वाभिमान एवं कला र प्रविधिमा रचनात्मक प्रयोगसहित राष्ट्रिय रुपमा योगदान पुर्‍याउन सक्ने चलचित्रहरुलाई प्रोत्साहन दिन विशेष चलचित्रको प्रतिस्पर्धा गरिएको हो’, प्रवक्ता बुढाथोकीले भने। विशेष चलचित्र घोषणा हुने सबै चलचित्रहरुलाई अन्तर्राष्ट्रिय भाषामा सबटाइटलमा हुने खर्च स्वरुप प्रतिचलचित्र दुई लाख रुपैयाँ बोर्डले प्रदान गर्ने गर्दछ। साथै, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिताका लागि बोर्डले सहजीकरण गर्ने गर्दछ। 

उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद), उत्कृष्ट छायाङ्कन, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्रलाई राष्ट्रिय चलचित्र पुरस्कार प्रदान हुने गर्दछ। ती विधाबाहेक निर्णायक समितिलाई अभूतपूर्व लागेमा बढीमा दुई विधामा समेत पुरस्कारका लागि सिफारिस हुने गर्दछ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .