आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो सम्पन्न गरिएको छ।
काठमाडौंको केएल टावरको हलमा मंगलबार साँझ आयोजित प्रिमियर शोमा उपस्थित अतिथिले चलचित्रबारे राम्रो प्रतिक्रिया दिएका छन्।
प्रिमियर शोमा निर्देशक तथा निर्मात्री दिपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत अभिनेता कृष्ण सिवाकोटी, मुकुन भुसाल, सलोन बस्नेत, मनीष राउत, गायक पवन गिरीलगायत अतिथि उपस्थित थिए।
विगतका तुलनामा यो चलचित्रको प्रिमियर कार्यक्रम असाध्यै छोटो बनाइएको थियो। यसअघिका कार्यक्रममा उपस्थित अतिथिले औपचारिक कार्यक्रम असाध्यै लामो बनाइएको, धेरै वक्ता राखिएको भन्दै गुनासो गर्न थालेपछि यो चलचित्रको प्रिमियर शो छोटो बनाइएको हो।
प्रिमियर शोमा निर्देशक सरोज पौडेलले चलचित्र नितान्त मनोरञ्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे। उनले भने, ‘हामीले यो एउटा प्रयास गरेका छौं। अर्को कुरा म पनि यसै चलचित्रबाट निर्देशन यात्रा थालेको छु। आशा छ- दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्वीकार्नुहुनेछ।’
त्यस्तै कार्यक्रममा अभिनेता बुद्धि तामाङले अरु चलचित्रमा भन्दा यसपटक केही फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने दाबी गरे। अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे।
निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसीले सञ्चालन गरेको औपचारिक कार्यक्रमपछि चलचित्र देखाइएको थियो।
समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत यो चलचित्रको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो, जसलाई दर्शकले मन पराएका थिए। वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तुमा आधारित यो चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो। यो चलचित्र नेपालसहित जापान, अस्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि प्रदर्शन गर्ने तयारी छ।
तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ भने बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कँडेल, जयनन्द लामालगायत कलाकारले अभिनय गरेका छन्। वरिष्ठ कलाकार लामाको यो अन्तिम चलचित्र हो। उनको निधन भइसकेको छ।
यो चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथिले उत्कृष्ट प्रतिक्रिया दिएका थिए।
मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रका डीओपी दीर्घ गुरुङ हुन्। कविराज गहतराज, गम्भीर विष्टको संयुक्त करियोग्राफी, शाश्वत श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठलगायत चर्चित गायकको आवाज सुन्न सकिन्छ। गीतका म्युजिक डिरेक्टर राज सागर हुन्।
Shares
प्रतिक्रिया