ad ad

कला


पोस्टरजति आकर्षक छैन ‘परस्त्री’

पोस्टरजति आकर्षक छैन ‘परस्त्री’

नेपालखबर
असार २०, २०८० बुधबार ८:२५, काठमाडौँ

काठमाडौं महानगरभित्र आकाश ताक्दै ठडिएका अपार्टमेन्टभित्र हुर्कंदै गरेका कामकाजी परिवारले बाँच्ने आधुनिक जीवनशैलीले नयाँ सांस्कृतिक धरहरा खडा गर्दै गइरहेको छ। गाउँको संयुक्त परिवारबाट टुक्रिएर सहर झरेका र सहरबाट अपार्टमेन्ट छिरेका दैनन्दिन भागदौडभित्र हराइरहेका यी मान्छेका संवेदना स्वस्थ छ कि छैन, जाँच्ने फुर्सद कसैलाई छैन। शुक्रबारदेखि नेपाल र भारतका सिनेमा हलहरुमा एकसाथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परस्त्री’का लेखक दीपेन्द्र के खनालले परम्परागत जीवनशैलीबाट ‘फास्डफुडे’ संस्कृतिभित्र घुलमिल हुन खोजिरहेका यस्तै मान्छेका मानसिक अवस्था परीक्षण गर्ने प्रयत्न गरेका छन्। 

मनोरोगी श्रीमान्‌को आततायी व्यवहारबाट आजित स्त्री मायाप्रेम खोज्दै जब लोकाचारी प्रेमीको अँगालोमा हराउन खोज्छिन, त्यसले कस्तो परिणाम निम्त्याउँछ भन्ने कथा कहने ‘परस्त्री’ हामीले बाँचिरहेको समाजको ऐना हो। तर महानगरको यो कथालाई महानगरवासीले त्यति रुचाइरहेका छैनन्। मंगलबार नेपालखबरको मल्टी-मिडिया टिम महानगर संस्कृतिको मानक मानिने लबिङ मलस्थित क्यूएफएक्स थिएटरमा ‘परस्त्री’ हेर्न पुगेको थियो। त्यहाँ एक शो (६–९ बजे) मात्र पाएको ‘परस्त्री’ हेर्ने दर्शकको संख्या निकै कम थियो। 

पोस्टर र ट्रेलर रिलिजपछि विवाहेतर सम्बन्धबारे बनेको थ्रिलर यो सिनेमाको शीर्ष भूमिकामा रहेकी शिल्पा मास्केको ‘बोल्डनेस’को निकै चर्चा भए पनि उनी पर्दामा पोस्टरमा जति ‘सेक्सी’ देखिन्नन्। एक खालको ‘बडी स्ट्रक्चर‘की धनी शिल्पाको ‘सेक्सी’ स्वरुप देखाउन अंग प्रदर्शन, हस्तमैथुन, लिप किसिङ, बेडसिन सबै गराइए पनि सुरज पाण्डेको निर्देशन र छायाकार निरज कँडेलको क्यामेराले न्याय गर्न सकेको छैन। निर्देशकीय कमजोरीले कतिपय ठाउँमा शिल्पाको आत्मविश्वास खस्केको देखिन्छ। 

केहीले नेपाली इमरान हासमीको उपमा दिएका गौरव विष्टलाई प्रेमीका रुपमा देखाउन खास केही थिएन। तैपनि उनले आफ्नो चरित्रमा न्याय नै गरेका छन्। यो सिनेमा शिल्पालाई केन्द्रमा राखेर बनाइए पनि खासमा मनोरोगी श्रीमान्‌को भूमिकामा गजबको अभिनय गरेका कोसिस क्षेत्री केन्द्रीय पात्र बन्न पुगेका छन्।

मान्छे काटेर टुक्राटुक्रा पारिएका यस्ता दृश्य पनि छन्, जसले सिनेमाको सौन्दर्यलाई भद्दा बनाएका छन्। यस्ता हिंस्रक सिनलाई अनावश्यक किसिमले लम्ब्याइएको छ। निर्देशकले तर्क गर्न केही मात्रामा भए पनि ‘कलर डिम’ गरेका त छन्, तर ती दृश्य कलात्मक तरिकाले पनि देखाउन सकिन्थ्यो।

तर पनि काठमाडौंको ग्ल्यामर्स, मुस्ताङको सौन्दर्य र शिल्पाको बोल्डनेस मिसाएर बनाइएको ‘परस्त्री’ एकचोटि थिएटरमा गएर हेर्न लायक बनेको छ। 

‘चङ्गाचेट’, ‘पशुपतिप्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’जस्ता पृथक फिल्ममा लगानी गरेकी निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’मार्फत छोरा सुरज पाण्डेलाई ‘मसलेदार फिल्म’ को अभिभारा दिएकी छन्। डेब्यु फिल्मका हिसाबले निर्देशक सुरजले सम्भावना देखाएका छन्। तर बलिउडमा सयौंको संख्यामा बनेका यस्ता सिनेमा हेरिरहेका दर्शकले नेपाली रुपान्तरणजस्तो लाग्ने ‘परस्त्री’ हेर्न त्यति रुचि नदेखाएको देख्दा के भन्न सकिन्छ भने नेपाली दर्शकले आफ्नै मौलिक परिवेशको कथा नै हेर्न खोजिरहेका रहेछन्।

‘पररस्त्री’का निर्मात्री र नायिकासँग नेपालखबरले गरेको अन्तर्वार्ता पनि हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .