वाग्नर समूहको विद्रोहपछि रुसी राष्ट्रपति भ्लादिमर पुटिनले राष्ट्रको नाममा सम्बोधन गरेका छन्।
रुसको सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै पुटिनले वाग्नर समूह देशद्रोही भएको बताए। वाग्नर समूह अपराधिक अभियानमा हिँडेको आरोप लगाउँदै उनले दण्डित गरिने बताए।
'हामीलाई भित्रैबाट पन्छाउने प्रयास भयो, यो देशद्रोह हो,' उनले भने, 'हामी फेरि गृहयुद्ध हुन दिन्नौँ, जनता र राज्यको रक्षा गर्छौँ।'
उनले देशद्रोह वा सशस्त्र विद्रोहको बाटोमा हिड्नेहरूलाई कारवाही गरिने चेतावनी दिए। उनले भने, 'हामी सशस्त्र विद्रोहको तयारीमा लाग्दा तपाईंहरू आतंकवादी हमलाको तयारी गर्दै हुनुहुन्छ, कारवाही हुन्छ।'
वाग्नर समूहले देशमा गद्दारी गरेको बताउँदै जवाफी कारवाहीका लागि रुसी सेनालाई आदेश दिएको बताए।
रुसको शक्तिशाली निजी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले बाख्मुतको वाग्नर प्रशिक्षण शिविरमा मिसाइल आक्रमण भएको भन्दै रुसी सेनालाई कारवाही गर्ने चेतावनी दिएका छन्।
पुटिनविरुद्ध विद्रोहको घोषणा गरी उनी आफ्ना सैनिकसहित मस्कोतर्फ बढिरहेका छन्। रुसको दक्षिणी सहर रोस्तोभमा रहेको सैन्य अड्डाहरू नियन्त्रणमा लिएको दाबी उनले गरेका छन्।
Shares
प्रतिक्रिया