रुसको निजी अर्धसैनिक समूह वाग्नर फिर्ता भएसँगै तत्कालका लागि रुसमा गृहयुद्ध टरेको छ।
बेलारुसका रास्ट्रपति अलेकजेन्डर लुकासेन्कोले वार्ता गरेपछि वाग्नर प्रमुख प्रिगोजिन मस्कोतर्फको मार्च रोक्ने निर्णयमा पुगेका हुन्।
प्रिगोजिनले शनिबार राष्ट्रपति भ्लादिमर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दिँदै अगाडि बढेका थिए। २५ हजार तालिम प्राप्त अत्याधुनिक हतियार सहितको उनको समूहले दक्षिणी सहर रोस्तोभ कब्जा समेत गरेको थियो। जसले रुसमा 'कू'को सम्भावना बढेको थियो।
प्रिगोजिनको उक्त कदमपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दावी गरेअनुसार पुटिन इतिहासमै सबैभन्दा डराएका र विचलित देखिएका थिए। राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रिगोजिनलाई कारवाही गर्ने चेतावनी समेत दिएका थिए। वाग्नर समूहमाथि अपराधिक मुद्दा लगाइएको थियो।
२४ घण्टाको सो कदमपछि रुसको राजनीतिमा नाटकीय बदलाव देखिएको छ। प्रिगोजिनले आफ्ना सेनालाई युक्रेन फर्किन आदेश दिएका छन्। रूसी मिडिया रिपोर्ट अनुसार प्रिगोजिन भने अब बेलारुस जाने तयारीमा छन्। यससँगै रुसमा हुनसक्ने गृहयुद्धको अन्त्य भएको विश्वास गरिएको छ।
Shares
प्रतिक्रिया