२४ वर्षीया ताला अबु र उनका परिवारका ६ सदस्य केही दिनदेखि रफाह क्रसिङनजिकै गाजामा फसेका छन्।
रफाह क्रसिङबाट विदेशी नागरिक र गम्भीर घाइतेलाई मात्रै बाहिर निकालिएको छ। ताला अबुकी आमासँग जोर्डन राहदानी छ र जोर्डन दूतावासले उनको परिवारसँग सम्पर्क पनि गरेको थियो।
तर पनि ताला अबुको परिवारले गाजा छाड्न सकेको छैन। अबु भन्छिन्, ‘तीनपटक प्रयास गरेँ, तर सफल भएन।’
ताला अबुका १५ वर्षीय भाइ एपिलेप्सीबाट पीडित छन् र ह्विलचेयरको सहायताले मात्र एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन्।
उनका अनुसार गाजाका अस्पतालहरूमा औषधि सकिएको छ र जताततै बम विस्फोटका आवाज मात्र सुनिन्छ। जारी द्वन्द्वका बीच भाइको स्वास्थ्य बिग्रँदै गएको उनी बताउँछिन्।
ताला अबु भन्छिन्, ‘हामी बाँच्न प्रयास गरिरहेका छौँ। हामी सफल हुन्छौँ कि हुँदैनौँ, थाहा छैन, तर हामी सक्दो प्रयास गरिरहेका छौँ, किनभने म २४ वर्षकै उमेरमा मर्न चाहन्नँ।’
प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी लडाइँका कारण गाजाको अवस्था भयावह बनेको छ। बीबीसी
Shares
प्रतिक्रिया