ad ad

ग्लोबल


मार्क्स र कन्फ्युसियसको विचारलाई मिसाउँदै सी चिनफिङ

मार्क्स र कन्फ्युसियसको विचारलाई मिसाउँदै सी चिनफिङ

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १८:४४,

कार्ल मार्क्स र कन्फ्युसियसको बीचमा भलै २४ सय वर्षको दुरी थियो तर, चिनियाँ सरकारी टेलिभिजनमा यी दुई हस्ती एकसाथ एक प्राचीन चिनियाँ एकेडेमीमा डुलिरहेका देखिन्छन्। पारिलो घाम लागेको बाँसको बगैँचामा चित्रकारी सिकिरिहेका विद्यार्थीहरुको एक समूह उनीहरुलाई आफ्नो मोडल बनिदिन आग्रह गर्छ। युवाहरुले उनीहरुको चित्र कोरिरहँदा मार्क्स र कन्फ्युसियस आपसमा बात मार्न थाल्छन्। उनीहरु चीनको बुलेट ट्रेन र अन्य प्रगति देखेर प्रभावित छन्। 

जब विद्यार्थीहरुले बनाएको तस्बिर देखाइन्छ, यी दुई विचारक छक्क पर्छन्। चित्रमा मार्क्सलाई ताङवंशीय पहिरनमा देखाइएको हुन्छ भने कन्फ्युसियसलाई पश्चिमा सुट–टाइमा। दुवै जना आह्लादित हुन्छन्। 

‘म सय वर्षभन्दा लामो समयदेखि चीनमा छु,’ मार्क्स मन्दारिनमा भन्छन्, ‘खासमा म लामो समयदेखि चिनियाँ भएको छु।’ कन्फ्युसियस दाह्री मुसार्दै मुसुमुसु हाँस्छन्। ‘सुटमा लामो कपाल अलि अजीब लाग्छ,’ उनी भन्छन्, ‘तर परिवर्तन भइहनुमा समझदारी छ।’

यो दृश्य हो ‘ह्वेन मार्क्स मेट कन्फ्युसियस’ नामक टेलिभिजन सिरिजको। अक्टोबरमा रिलिज भएको सिरिज हुनान प्रान्तको प्रचार विभागले बनाएको हो। यो लोकप्रिय छैन। एक फिल्म वेबसाइट तुबानमा यसबारे सयभन्दा बढी प्रतिक्रिया छन्, जसमध्ये धेरैजसो नकारात्मक छन्। तर, जो यसलाई पचाउन सक्छन्, तिनका लागि यो शो संस्कृतिबारे सी चिनफिङ विचारधारा (सीको दर्शनको नवीनतम शाखा) बुझ्ने राम्रो तरिका हो। 

सी विचारधाराको अन्य हिस्साले कूटनीति, रक्षा र अर्थतन्त्रजस्ता क्षेत्रमा कम्युनिस्ट पार्टीको अझ कसिलो पकड हुनुपर्नेमा जोड दिन्छ। अक्टोबरमा घोषित संस्कृतिबारे सी चिनफिङ विचारधाराले चिनियाँ परम्पराप्रतिको गर्वलाई पार्टीप्रतिको वफादारीसँग गाँस्ने प्रयास गर्छ।  

मार्क्सवादलाई अझ चिनियाँ चरित्रको बनाउने दशकौँ लामो प्रक्रियामा रहेको पार्टी भन्छ, यसको सबैभन्दा महत्वपूर्ण सिद्धान्त भनेको ‘दुई संश्लेषण’ हो। त्यसमध्ये पहिलो संश्लेषण हो– मार्क्सवादलाई चीनको ‘विशिष्ट यथार्थ’सँग अनुकूलन गराउने प्रयास। यही वैचारिक लचकताले गर्दा चीनका पूर्वनेता तेङ स्याओपिङले १९८० को दशकमा आर्थिक सुधार गर्न सके। दोस्रो संश्लेषण भनेको सीको विचारधारा हो– मार्क्सवादलाई चिनियाँ परम्परागत संस्कृतिसँग मिलाएर मार्क्सवादको चिनियाँकरण गर्नु।

यसले चिनियाँ कम्युनिस्ट पार्टीमा आएको व्यापक परिवर्तनलाई देखाउँछ। कुनै समय सो पार्टीले परम्परालाई आफ्नो शत्रु मानेको थियो। १९६६–७६ को सांस्कृतिक क्रान्तिको अवधिमा माओ चेतुङका लाल सैनिकले कन्फ्युसियसका मन्दिर भत्काएका थिए, पुस्तक जलाएका थिए र यिनको चिहानमा समेत धावा बोलेका थिए। युवाहरुले आफ्ना गन्यमान्यहरुको निन्दा गरे, जुन मान्यजनको आदरमा जोड दिने कन्फ्युसियसको विचारविपरीत थियो। 

तर, १९७६ मा माओको मृत्युपछि पार्टीले कन्फ्युसियससँग सम्बन्ध सुधार्‍यो। अथवा, कमसेकम सत्तासँगको फरक मतमा जोड दिने उनका शिक्षालाई ग्रहण गर्‍यो। तेङले यी दार्शनिकको जन्मदिवस सार्वजनिक रुपमा मनाउने अनुमति दिए। तेङका उत्तराधिकारीहरु चियाङ चमिन र हु चिन्ताओले कन्फ्युसियसका विचारहरुलाई चाहिँदो उपयोग गरे। सन् २००० को दशकको सुरुवातमा त चिनियाँ विद्वानहरुले चीनको निर्देशक विचारधाराका रुपमा मार्क्सवादलाई कन्फ्युसियसवादले विस्थापित गर्न सक्छ कि भनेर बहस समेत गरे।

सीले यो बहसलाई अन्त्य गर्दै छन्। उनी भन्छन्, मार्क्सवाद चिनियाँ संस्कृतिको ‘आत्मा’ हो भने कन्फ्युसियसवाद ‘जरा’। यी दुवै विचारधारालाई त्याग्न सकिँदैन। बरु, यी दुईको संयोजन गरिनुपर्छ।

‘ह्वेन मार्क्स मेट कन्फ्युसियस’ ले दर्शकहरुलाई यी नयाँ सोचसँग परिचित गराउँछ। शोका पाँच एपिसोडको अधिकांश समय दुई दार्शनिक मञ्चमा बसिरहन्छन्। उनीहरुको दर्शकका रुपमा विद्यार्थी र विद्वान तथा पार्टीका अधिकारीहरु आलोपालो गरिरहन्छन्। पृष्ठभूमिमा परम्परागत पहिरन हान्फु लगाएकी एक युवती एक प्राचीन बाजा गुचेङ बजाइरहन्छिन्। यी दार्शनिकहरु भ्लादिमिर लेनिन र माओजस्ता हस्तीहरुको छवि लिएर संवाद गरिरहन्छन्। र, उनीहरुको विचार एकआपसमा कति मिल्दोजुल्दो छ भनेर विवेचना गर्छन्। त्यसपछि कार्यक्रमका प्रस्तोता यी सबै विचार कसरी सी चिनफिङ विचारधारामा अटाएका छन् भनेर व्याख्या गर्छन्।

कन्फ्युसियस सामाजिक व्यवस्था कायम राख्न समाजमा श्रेणीहरु (वर्गहरु) आवश्यक छन् भन्ने मान्थे। तर, मार्क्सले वर्गभेद मेटाउन सर्वहारा क्रान्तिको आह्वान गरेका थिए। यो फराकिलो मतभेदलाई शोले ढाकछोप गरेको छ।  

‘तपाईं स्थिरता कायम राख्न खोजिराख्नु भएको थियो र म सम्पूर्ण मानवजातिको मुक्ति खोजिरहेको थिएँ,’ मार्क्स भन्छन्, ‘तर, हामी दुवैले सम्पूर्ण मनुष्यको सर्वोत्तम हित खोजेका होइनौँ र?’

जब मार्क्स वर्गविहीन समाजको आफ्नो दृष्टिकोण उल्लेख गर्छन्, तब कन्फ्युसियस त्यससँग मिल्दोजुल्दो अवधारणा आफूसँग पनि भएको बताउँछन्– ताथोङ (महान एकता)। त्यसोभए हामीबीच टन्नै समानता रहेछन्!’ कन्फ्युसियस भन्छन्। विद्यार्थीहरु ताली बजाउँछन्।

शोमा सांस्कृतिक क्रान्ति एक पटक उल्लेख गरियो। यसले ‘ठूलो क्षति’ गर्‍यो, एक प्रस्तोता भन्छन्। तर, माओलाई दोष दिँदैनन्। एक विन्दुमा माओको आत्मा प्रकट हुन्छ। आफू इमानदार कम्युनिस्ट र परम्परागत चिनियाँ संस्कृतिको रक्षक भएको भन्दै उनी मार्क्स र कन्फ्युसियसलाई आश्वस्त तुल्याउँछन्। कन्फ्युसियस सहमतिमा मुन्टो हल्लाउँछन्। 

यो शोले पश्चिमाहरुको आलोचनामा ज्यादा समय बिताउँछ। एक प्रस्तोता १९ औँ शताब्दीमा चीनमा ‘दीर्घकालीन सांस्कृतिक हीनताबोध’ हुनुमा विदेशी थिचोमिचोलाई दोष दिन्छन् (र, ती विद्वानहरु जो परम्पराले चीनलाई कमजोर बनाएको छ भन्ने सोच्थे)। १९८० को दशकको सुधारको सुरुवाती चरणलाई ‘ऐतिहासिक शून्यवाद’ को खतरनाक अवधिका रुपमा याद गरिन्छ। त्यसबेला चिनियाँ जनतालाई आफ्नै समाजको आलोचना गर्न पश्चिमा विचारहरुले बहकाएको थियो। ‘कुनै देशको अर्थतन्त्र विकास भयो तर उसको आत्मा मर्‍यो भने के त्यो देश बलियो हुन सक्छ?’ प्रस्तोता सीलाई उद्धृत गर्दै सोध्छन्।

यसको अन्तर्निहित उत्तर शोले दिन्छ– हुँदैन। उसोभए सीले चीनको आत्मविश्वास पुनर्स्थापना गरेर राम्रो गर्दैछन्, शोको दाबी छ। त्यति मात्र होइन, नृशंस पश्चिमा मुलुकभन्दा विपरीत सी र पार्टी विश्वभरका सबैको साझा हितको खोजीमा छन्। प्रस्तोता भन्छन्, अमेरिका क्लस्टर बम निर्यात गर्छ। जापान आणविक दुर्घटनामा दुषित पानी समुद्रमा छाड्छ। ‘जिम्मेवार महाशक्ति’ चीनले कदापि त्यस्तो नगर्ने उनी बताउँछन्। यसबाट मार्क्स प्रभावित देखिन्छन्। समाजवादको पुनरोत्थान गरेर आफ्नो सपना पूरा गरेकोमा उनी चीनलाई बधाई दिन्छन्।

‘ह्वेन मार्क्स मेट कन्फ्युसियस’को उपहास गर्न सजिलो छ। तर, यसले दिने केही सन्देश चिन्ताजनक छन्। अन्तिम एपिसोडमा एक जना विद्यार्थी ताइवान मामिलामा कन्फ्युसियसको सल्लाह माग्छन्। ‘हाम्रो परम्परागत संस्कृति भनेको वास्तवमै शान्ति हो। तर, केही पश्चिमा मुलुक जंगली कानुनमा मात्र विश्वास गर्छन्,’ ती विद्यार्थी भन्छन्, ‘यदि उनीहरु हामीलाई धम्क्याउँछन् र हाम्रो राष्ट्रिय एकीकरणमा भाँजो हाल्छन् भने के हामीले उनीहरुसँग शान्तिकै कुरा गर्नुपर्छ भन्ने छ र?’

कन्फ्युसियस निधार खुम्च्याउँछन्। भलाइको जवाफ भलाइले दिनुपर्छ, घृणाको जवाफ न्यायले दिनुपर्छ, उनी भन्छन्। बीचैमा एक प्रस्तोता उफ्रिन्छन्, चीन शान्ति खोज्छ। तर, उसको इज्जत र हितमा क्षति भए राष्ट्रिय एकीकरणका लागि उसले सैन्य बल प्रयोग गर्नेछ। 

स्क्रिनमा लडाकु विमान र युद्धपोतहरुको तस्बिर देखिन्छ।

(दि इकोनोमिस्टबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .