ad ad

ग्लोबल


इजरायल–गाजाबीच युद्धविराम हुन लागेको हो?

इजरायल–गाजाबीच युद्धविराम हुन लागेको हो?

रासस/एएफपी
मंसिर ५, २०८० मंगलबार १५:०, गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र)

हमास नेता इस्माइल हानियेहले इजरायलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन्। यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकु समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ। 

‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’, एएफपीलाई आफ्नो कार्यालयले पठाएको विज्ञप्तिमा हानियेहले भने। 

गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकुले राखेका २ सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्न एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन्। 

गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजरायली छन्। तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन्। बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ। केहीलाई इजरायली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीका शव भेटिएका छन्। 

बाँकीको सटीक ठेगाना थाहा छैन। यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजरायलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ। 

हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो। मारिनेमा अधिकांश सर्वसाधारण थिए। हमासका अनुसार इजरायली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका छन्। 

नाम नछाप्ने सर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको सर्तमा सहमत भएको बताएको छ। इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकु समूह हो, जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो। 

अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ। यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाई सञ्चालनको सीमा समावेश छ। बदलामा प्यालेस्टिनी लडाकू समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन। 

प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टिनीलाई पनि इजरायली जेलहरूबाट रिहा गरिने छ। 

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताएका थिए। उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ। कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजरायलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ। 

त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजरायल र गाजामा सशस्त्र सङ्घर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउन हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .