गत राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएर जनता समाजवादी पार्टी गठन भयो। समाजवादी पार्टी पनि फुटको संघारमा पुगेर जोगिएको छ।
सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी गठन हुने चर्चा थियो। पार्टीभित्र असन्तुष्ट सांसद विमल श्रीवास्तवले सो समूहलाई साथ दिने अपेक्षा थियो। तर, गत २४ घण्टाको राजनीतिक दाउपेचका बाबजूद समाजवादी पार्टी फुटेन।
यसै सन्दर्भमा पर्सा २ बाट निर्वाचित सांसद तथा संघीय संसदको उद्योग वाणिज्य तथा श्रम समितिका सभापति श्रीवास्तवसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः
रेणु यादवसँग मिलेर तपाईंले सामाजवादी पार्टी फुटाउने हल्ला चल्यो नि?
आज १२ बजेसम्म म अलग पार्टीमा जाने सबैकुरा मिथ्या हुन्। भरेभोलि के हुन्छ, म भन्न सक्दिनँ। अहिलेसम्म न मेरो रेणु यादवसँग सम्बन्ध छ, न म उहाँको घर गएको छु। न उहाँसँग पार्टीको कुनै कुराकानी भएको छ। यो सम्बन्धमा मेरो कसैसँग केही कुराकानी भएको छैन।
म लकडाउन भएदेखि एकचोटी संसदीय समितिमा गएँ। त्यसपछि घरको घरमै छु। मिडियामा पनि कहिले के लेख्दिएका हुन्छन्, कहिले के भन्दिएका हुन्छन्। कहिले दश जनाको कहिले सात जनाको नाम लेखिदिएका हुन्छन्। म पार्टी विभाजनमा आवद्ध छैन। भविष्यमा के हुन्छ केही भन्न सकिन्न।
भनेपछि पार्टी विभाजन गर्ने रेणु यादवहरुको प्रयास अहिलेलाई असफल भएको हो?
उहाँसँग मेरो कुनै सम्पर्क नै छैन भनेपछि कसरी उनीहरुको प्रयास सफल या असफल भन्नु? मेरो राजकिशोर यादव, अनिल झा कसैसँग पनि केही सम्पर्क छैन्।
तपाईं नआएर संख्या नपुगेका कारण नयाँ पार्टी गठन नभएको कुरो छ नि?
यो बिल्कुल गलत कुरो हो। अहिलेसम्म कसैसँग पनि मेरो यस्तो कुरा भएको छैन। भविष्यको कुरा म भन्दिनँ। राजनीति हो, घण्टाघण्टामै परिवर्तन भइराख्छ। अहिले १२ बजेसम्म न म कहीँ गएको छु। न कसैसँग मेरो भेटघाट छ। न मैले कसैसँग केही भनेकै छु।
पार्टी नेतृत्वसँग तपाई पनि असन्तुष्ट हुनुहुन्छ भन्ने चर्चा छ...
पार्टीमा भएपछि, एक ठाउँमा काम गरेपछि सन्तुष्ट, असन्तुष्ट भइहाल्छ नि। यो स्वभाविक कुरो हो। घर परिवारमा बस्दा बुढाबुढीको त झगडा हुन्छ भने पार्टी त झन् एउटा विशाल हुन्छ। हजारौं लाखौं मान्छे हुन्छन् भने त्यहाँ सबैलाई सन्तुष्ट गर्ने स्थिति पनि हुँदैन। त्यसकारण यो झिनामसिना कुरा हो।
पछिल्लो २४ घण्टाको राजनीतिक घटनाक्रमलाई कसरी व्याख्या गर्नुहुन्छ?
म यसलाई मान्छेहरुको मन स्थिर नभएको मात्रै भन्छु। हिजो हतारहतार त्यति राति दुई पार्टी जुट्यो। यदि कोही जान्छ भने गए भइगयो नि। पार्टी भोलि पनि फुट्नसक्छ। कसैले रोक्न सक्दैन।
तर, जोड्दाखेरि हतारिएर नजुटौं न। सबै मिलाएर, प्रक्रिया मिलाएर एकता गरे भइगयो नि। बिहे गर्नु छ भने हतारिएर सिउँदोमा सिन्दुर लाउनुपर्ने ठाँउमा नाकमा लगाएर– ल, बिहे भयो, भन्नु भएन।
कोही फुट्न चाहन्छ भने तपाईं रोक्न सक्नुहुन्न। त्यसकारण मेरो विश्लेषण मान्छे स्थिर नभएको मात्रै हो।
अहिले विश्वमा जुन किसिमको महामारी छ, त्यसमा सबै पक्षको ध्यान जानुपर्छ। सरकारले कुसमयमा विधेयक ल्यायो। तर उसले त्यसो गर्दैमा सारा दल तरंगित हुनुपर्दैन। प्रचण्ड, बालुवाटार, कांग्रेसले मिटिङमा जति मेहनत लगाइरहेका छन्, त्यति कोरोना रोकथाममा लगाएको भए कति राम्रो हुन्थ्यो!
प्रतिक्रिया