ad ad

कोशी


प्रदेश १ मा सभामुख चयन आज, को बन्दै छन्?

प्रदेश १ मा सभामुख चयन आज, को बन्दै छन्?

नेपालखबर
पुस २८, २०७९ बिहिबार ९:३, विराटनगर

प्रदेश १ ले आज सभामुख पाउँदै छ। प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ।

आज बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको विधिबाट सभामुख चयन गर्ने भए पनि एकल उम्मेदवारी परेका गौतम  सभामुख बन्ने निश्चितजस्तै छ। गौतमलाई एकीकृत समाजवादीले पनि समर्थन गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनी एक्ला उम्मेदवार हुन्। 

बाबुराम गौतम

गएको मंगलबार भएको सभामुख मनोनयनका क्रममा ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतमको प्रस्तावकमा एमालेका रेवतीरमण भण्डारी छन् भने समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपालबहादुर विश्वकर्मा छन्। प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउनेगरी यसअघि नै केन्द्रमा सहमति भएको थियो। 

अहिलेकै अवस्था कायम रहिरहे गौतमले ६४ मत प्राप्त गर्नेछन्। एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ र नेकपा एसका ४ गरी ६४ सांसदको समर्थन प्राप्त हुनेछ। 

९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन्। 

केन्द्रमा भएको सहमतिअनु्सार उपसभामुख एमालेको भागमा परेको छ। जसमा एमालेभित्र उपसभामुखका लागि चार जना आकांक्षी देखिएका छन्। आज बस्ने प्रदेशसभा बैठकले उपसभामुखको निर्वाचनका लागि तालिका सार्वजनिक गर्ने कार्यसूची छ। उपसभामुखको निर्वाचन आगामी ३० गतेका लागि तोकिएको छ। 

प्रदेश १ को उपसभामुख बन्ने दौडमा सुनसरीकी नीरा खनाल, भोजपुरकी सिर्जना राई, उदयपुरकी सिर्जना दनुवार र तेह्रथुमकी कमला दर्नाल छन्। यीमध्येबाट एक जनालाई एमालेले उपसभमुख बनाउने छ।

सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था संविधानको धारा १८२ को २ मा उल्लेख छ। जसअनुसार सभामुखमा गौतम चयन हुने पकापक्की भएकाले अब उपसभामुख भने प्रदेश १ ले महिला पाउनेछ। प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेशसभाका सभामुख र उपसभामुखको चयन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था छ। प्रदेश १ प्रदेशसभाको पहिलो बैठक यही पुस १७ गते बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .