सर्लाहीको हरिवनमा स्कुलको गेट ढल्दा मृत्यु भएका बालकका अभिभावकले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्।
पीडित परिवार र विद्यालय प्रशासनबीच सोमबार साँझ यस्तो सहमति भएको हो।
सोमबार बिहान हरिवन-९ सुखेपोखरीस्थित ज्ञानज्योति आवासीय इङ्लिस बोर्डिङ स्कुलको गेट भत्किँदा सर्लाहीकै बागमती नगरपालिका ४ घर भएका आकाश बलका ५ वर्षीय छोरा आयुष बलको मृत्यु भएको हो। घटनामा अर्का विद्यार्थी ७ वर्षीय आदित्य बल गम्भीर घाइते भएका छन्।
मृतक बालकका परिवारलाई किरिया खर्चबापत तत्कालै ५० हजार रुपैयाँ दिने र घाइते बालकको सम्पूर्ण उपचार खर्च पनि विद्यालयले बेहोर्ने सहमति भएको छ।
सोमबार बिहान विद्यालयकै बसमा आएका बालबालिका स्कुल गेटनजिक झर्दै गर्दा फलामे गेट ढलेर उनीहरुलाई थिचेको हो। दुर्घटनामा यू केजीमा अध्ययनरत आयुषको मृत्यु भयो भने २ कक्षामा पढ्ने आदित्य गम्भीर घाइते भएका हुन्। घाइते आदित्यको हाल वीरगन्जमा उपचार भइरहेको छ।
घटनापछि मृतक र घाइते बालकका आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए।
सहमतिपछि सोमबार साँझबाटै यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय (हरिवन) का प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए।
Shares
प्रतिक्रिया