ad ad

राजनीति


भावुक हुँदै प्रधानमन्त्रीले भनेः दुर्घटनामा दुधेबालक बेवारिस भएको खबरले खान र सुत्न सकिनँ

भावुक हुँदै प्रधानमन्त्रीले भनेः दुर्घटनामा दुधेबालक  बेवारिस भएको खबरले खान र सुत्न सकिनँ

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ११:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन्।

पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका हुन।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दूर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउनेगरी पूर्वाधार तथा सडक नियम पालना गराउन निर्देशन दिएका थिए।

‘सिन्धुपाल्चोकको सडक दूर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खवर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ। हिजो खाना खान र सुत्न पनि सकिनँ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ। त्यसले कति बृद्धबृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ? यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु प¥यो।’

प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकहरुलाई तालिम, लाइसेन्सको पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनूमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिए।

‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’ प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा डबल लेन घटीको संरचना स्वीकृत नगर्नुस्, सडकको डिलमा ग्रास ब्यारियार अनिवार्य निर्माण गर्ने व्यवस्था गर्नुस्, सडकमा स्पिडब्रेकरको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस्।’

हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणहरुको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए। प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दूर्घटनाको छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गृहमन्त्रालयले व्यक्त गरेको छ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दूर्घटनाको वर्तमान अवस्था, न्यूनिकरणका उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .