माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म पार्टी एकताका लागि कुनै दलसँग औपचारिक कुरा नभएको जनाएको छ।
दुई दिनसम्म काठमाडौंमा बसेको पोलिटब्युरो बैठकपछिको निर्णयको संक्षिप्त विवरण सुनाउँदै उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन्।
उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धनको सरकारमा जानेबारे ठोस कुनै कुरा नभएको पनि बताएका छन्।
'सरकारमा जानेबारे कहीँ कसैबाट पनि औपचारिक प्रस्ताव आएको छैन। त्यसैले यसबारेमा कुरा हुने प्रसंग नै भएन', उनले भने, 'यदि औपचारिक र ठोस प्रस्ताव आएको हकमा सोच्न सकिने हुन सक्छ। तर अहिले नै सरकारमा जाने विषय अघि बढेन।'
उनले अहिले एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनबारे बैठकमा व्यापक छलफल गरिएको बताए।
'सरकारमा जानेबारेमा थप अध्ययन र विचार विमर्श गर्नुपर्ने आवश्यकता छ', उनले भने, 'यो सरकारले के कस्ता कार्यक्रम ल्याउन सक्छ? हामीसँगको राजनीतिक सम्बन्ध कस्तो हुनेछ त्यो अध्ययन गरेर आवश्यक निर्णय लिने जिम्मेवारी केन्द्रीय सचिवालयलाई बैठकले जिम्मा दिएको छ।'
Shares
प्रतिक्रिया