ad ad

राजनीति


ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, सांसद पद पनि गयो

ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, सांसद पद पनि गयो

नेपालखबर
चैत २९, २०७९ बुधबार १९:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज गरेको छ।

यससँगै ढाकाले सांसद पद पनि गुमाएका छन्।

उनको स्थानमा समानुपातिक सूचीबाट विन्ध्यवासिनी कंशाकारलाई निर्वाचित गराउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि रास्वपाले गरेको छ।

सभापति रवि लामिछानेले श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको बताए।

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रोल क्रमअनुसार विन्दवासिनी कंशाकार अघि रहेकाले उनलाई निर्वाचित भएको घोषणा गरिदिन पार्टीले आयोगलाई निवेदन दिने निर्णय गरेको लामिछानेले बताए।

बैठकपछि बोल्दै रास्वपा सभापति लामिछानेले ढाकाले दुर्गा प्रसाइँसँग रकमका लागि मोलमोलाइ गरेको पुष्टि भएको बताए।

झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन वसुन्धरास्थित केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसेको थियो।

बैठकका लागि सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका थिए।

रकम मोलमोलाई प्रकरणमा श्रेष्ठले लिखित  स्पष्टीकरण र मौखिक बयान पनि दिइसकेपछि रास्वपा बैठकले उनलाई पार्टीबाट हटाउँदै सांसद पद पनि खारेज गरेको हो।

डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचरण समितिले ढाकाको लिखित स्पष्टीकरण र मौखिक बयान पनि समावेश गरेर उनलाई कारबाही चलाउनुपर्ने सिफारिस सभापति लामिछानेसमक्ष गरेको थियो।

उक्त सिफारिसअनुसार श्रेष्ठमाथि बैठकले कारबाही गर्ने निर्णय गरेको हो।

बैठक बस्नुअघि नै रास्वपा समानुपातिक सांसदसमेत रहेका ढाका पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए। 

उनले यदि आफूमाथि कारबाही भएमा प्रसाईसँगको लेनदेन प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरुको सबै पोल खोलिदिने चेतावनी दिएका थिए।

तरपनि सभापति रवि लामिछानेले उनले प्रसाइँसँग रकमका लागि बार्गेनिङ गरेको पुष्टि भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .