ad ad

राजनीति


संघीय सरकारविरुद्ध बालेनको आक्रोश : सिंहदरबार र राजधानी अर्कै पालिकामा लैजानू

संघीय सरकारविरुद्ध बालेनको आक्रोश : सिंहदरबार र राजधानी अर्कै पालिकामा लैजानू

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १२:४३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संघीय सरकारविरुद्ध एकपछि अर्को आक्रोश पोखिरहेका छन्। 

यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर एक सातादेखि उठाइरहेका छैनन्। 

यस्तोमा बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए।

बिहीबार मध्यान्ह बालेनले संघीय सरकारविरुद्ध झन् कडा टिप्पणीसहित बरु राजधानी काठमाडौं नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्।

मंगलबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बालेनको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको थियो।

त्यसपछि पनि बालेनले फोहोर नउठाउने अडानबाट पछि नहट्ने जनाउ बुधबार नै दिइसकेका छन्। यस्तोमा बिहीबार उनले आफूहरुसँग मिलेर काम नगर्ने भ‌ए राजधानी नै अन्त सार्न भनेका हुन्। 

'कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस', उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, 'हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राज्धानी सार्नुस्।'

उनले आफूले अघि बढाएका काममा संघीय सरकारले अनावश्यक राजनीति र असहयोग गरेको गुनासो पनि गरेका छन्। 

'हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला र सभ्यता चाहिन्छ', उनले अगाडि भनेका छन्, 'राजनिती होइन।'

के थिए मेयरले उठाएका सवाल
१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी- ३ मन्त्रीसँग पटकपटक पहल, सहमति भएर माइन्युटसमेत भइसकेको तर कार्यान्वयन नभएको।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार। 

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टीभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा- दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको। 

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरि सेवा दिनलाई बजेट व्यवस्थापन- दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको।

५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल- दुई मन्त्रीलाई पटक पटक पहल गरिएको। 

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनुपर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम- २ मन्त्रीसँग पटकपटक पहल।

७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा- ४ मन्त्रीसँग पटकपटक पहल। 

८. भौतिक यातायात : रिङरोड विस्तार, उपत्यका यातायात प्राधिकरण गठन- दुई मन्त्रीहरूसँग पटकपटक पहल। 

९. सूचना तथा सञ्चार :आईएसपी र टेलिकमबीच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस्- २ मन्त्रीसँग पहल। 

१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग- २ मन्त्रीसँग पहल। 

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, केयूकेएलको उचित व्यवस्थापन पहल- २ मन्त्रीसँग पटक पटक पहल। 

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण- मन्त्रीसँग पटकपटक पहल। 

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा- दुई मन्त्रीसँग पटकपटक पहल। 

१४. कृषि  मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण- मन्त्रीसँग पटकपटक पहल।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .