प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त परिवर्तन उल्ट्याउने खतरा अझै रहेको बताएका छन्।
नयाँ वर्ष २०८० सुरु भएको उपलक्ष्यमा शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा आयोजित नेता/कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले सरकारको नेतृत्वमा माओवादी भए पनि गणतन्त्र असफल पार्ने खतरा रहेको बताएका हुन्।
‘संविधानसभाबाट भएको घोषणालाई पनि आत्मसात् गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी सरकारको नेतृत्वमा छौँ, त्यसकारण उल्टिँदैन होलाजस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरूलाई बुझिनेगरी भन्न चाहन्छु– यो स्थिति सहज छैन। हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ।’
नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री प्रचण्डले आजदेखि हप्ताको हरेक शुक्रबार पार्टी कार्यालयमा आफ्ना नेता/कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमको सुरुवात गरेका हुन्। सोही क्रममा आज बिहानै उनी पेरिसडाँडा पुगेका हुन्।
Shares
प्रतिक्रिया