ad ad

राजनीति


आमनिर्वाचनबाट उदाएको राप्रपाको उपनिर्वाचनमा कन्तबिजोग

आमनिर्वाचनबाट उदाएको राप्रपाको उपनिर्वाचनमा कन्तबिजोग

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार ११:४४, काठमाडौँ

तीन क्षेत्रको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेजस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि कन्तबिजोग हुन पुगेको छ। 

आमनिर्वाचन–२०७९ मंसिरको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै राप्रपाले पनि प्रतिस्पर्धी दलको रुपमा उदाउने संकेत गरेको थियो। 

आमनिर्वाचन–२०७४ मा वामगठबन्धनको सहारामा प्रत्यक्षतर्फ प्रतिनिधि सभामा एक सिटमात्रै जितेको राप्रपाले राष्ट्रिय दलको हैसियतसमेत प्राप्त गरेको थिएन। 

यस्तो स्थितिमा रहेको राप्रपाले गत निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जित्न सफल भएको थियो। 

रास्वपाले पनि गत निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिटमै विजय हासिल गरेको थियो।  

रास्वपाको उभारबीच प्रत्यक्षतर्फ प्राप्त गरेको सिट संख्याका कारण राप्रपा बलियो प्रतिस्पर्धी दलका रुपमा उदाउने अनुमान गरिए पनि १० वैशाखमा भएको तीन क्षेत्रको उपनिर्वाचन परिणामले राप्रपालाई ठूलो धक्का दिएको छ।

उपनिर्वाचनको मतगणना सम्पन्न भएको तनहुँ–१ मा राप्रपाले आम निर्वाचनमा प्राप्त गरेको मतकोसमेत रक्षा गर्न सकेन। मतगणना जारी रहेका चितवन–२ र बारा–१ मा पनि राप्रपाको स्थिति उस्तै छ। 

आमनिर्वाचन–२०७९ मा तनहुँ–१ मा प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार विनोदबहादुर घर्तीले २ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए। समानुपातिकतर्फ उक्त दलले यो निर्वाचन क्षेत्रमा ३ हजार ५ सय ७७ मत प्राप्त गरेको थियो।

तर, उपनिर्वाचनमा समानुपातिकतर्फ त परको कुरा, प्रत्यक्षतर्फ प्राप्त गरेको मतसमेत जोगाउन सकेन। राप्रपा उम्मेदवार शोभा गुरुङले २ सय १८ मतमात्र प्राप्त गरेकी छन्।

रास्वपा अध्यक्ष रवि लामिछाने विजयोन्मुख रहेको चितवन–२ मासमेत राप्रपाको स्थिति उस्तै छ। 

आमनिर्वाचनमा चितवन–२ मा समानुपातिकतर्फ ३ हजार २ सय १८ मत प्राप्त गरेको राप्रपा उम्मेदवार रविन अधिकारीले प्रत्यक्षतर्फ ९ सय ५५ मत प्राप्त गरेका थिए। 

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार यो क्षेत्रमा राप्रपा उम्मेदवार जीवलाल पुरीले ३ सय २० मत प्राप्त गरेका छन्। यसअनुसार गत निर्वाचनमा प्राप्त गरेको मत यहाँ राप्रपाले यसपटक प्राप्त गर्न मुस्किल देखिन्छ। 

तनहुँ– १ र चितवन–२ भन्दापनि राप्रपाको नाजुक स्थिति बारा–२ को उपनिर्वाचनको जारी मतगणनाले देखाएको छ। 

गत निर्वाचनमा सो क्षेत्रमा राप्रपाले समानुपातिकतर्फ ९ सय ९३ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ त्यस पार्टीका सोनलाल प्रसाद साह तेलीले ४ सय ५९ मत प्राप्त गरेका थिए। 

राप्रपाले उपनिर्वाचनमा पनि आमनिर्वाचनका उम्मेदवार सोनलाल प्रसाद साह तेलीलाई नै प्रतिस्पर्धामा उतारेको थियो। 

उपनिर्वाचनको जारी मत गणनाको पछिल्लो परिणामअनुसार राप्रपा उम्मेदवार तेलीले यहाँ जम्मा ३० मतमात्रै प्राप्त गरेका छन्। 

कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलको स्थिति आमनिर्वाचनमा नै ह्रासोन्मुख देखिएको थियो। त्यसैले, उपनिर्वाचनमा उनीहरुको स्थिति थप खस्कनु त्यति अस्वाभाविक होइन। 

तर आम निर्वाचनमा प्रत्यक्षतर्फ रास्वपाकै हाराहारीमा सिट जितेको राप्रपाले उपनिर्वाचनमा जति मत प्राप्त गरेको छ, यसले यो दललाई फेरि अस्तित्व रक्षाको स्थितिमा पुर्‍याएको संकेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .