सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार (१४ वैशाख) दुई वटा प्रदेशको मुख्यमन्त्री आफ्नो भागमा पारेको छ। लगभग साढे ३ महिना चलाएको एमाले नेतृत्वको सरकार ढाल्दै कांग्रेसले गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री आफ्नो पोल्टामा पारेको हो।
०७९ पुस २७ गते लुम्बिनी र पुस २५ गते गण्डकीमा नेकपा एमाले नेतृत्वमा सरकार गठन भएको थियो।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लुम्बिनीका मुख्यमन्त्री गिरी राष्ट्रपतिको निर्वाचनमा केन्द्रीय समीकरण परिवर्तनसँगै सत्ता साझेदार दलहरूले चैत १२ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए।
विश्वासको मत पाउन नसकेर सरकार ढलेपछि मुख्यमन्त्री गिरीले प्रदेश प्रमुखसमक्ष धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी प्रस्तुत गरेका थिए।
प्रदेश प्रमुख शेरचनले भने संविधानको व्यवस्था, सर्वोच्च अदालत संवैधानिक इजलासको व्याख्यात्मक नजीरसहित महान्यायाधिवक्ता कार्यालयको रायसुझावका आधारमा मङ्गलबार पुनः उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।
लुम्बिनीमा गिरी नेतृत्वको सरकार ढलेसँगै नेपाली कांग्रेसका डिल्ली चौधरीलाई प्रदेश प्रमुखले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका छन्।
उनको शुक्रबार शपथ लिने कार्यक्रम रहेको जनाइएको छ।
त्यस्तै, सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि गण्डकीको अघिल्लो सरकार अल्पमतमा परेको थियो।
विश्वासको मत पाउन नसकेपछि गत वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। अधिकारी नेतृत्वको सरकार ढलेसँगै गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
उनले पनि शुक्रबार नै शपथ लिने कार्यक्रम रहेको जनाइएको छ।
Shares
प्रतिक्रिया