ad ad

राजनीति


इराकमा तनाव कम भयाे, ढुक्क हुने अवस्था छैन : राजदूत भण्डारी

इराकमा तनाव कम भयाे, ढुक्क हुने अवस्था छैन : राजदूत भण्डारी

नेपालखबर
पुस २५, २०७६ शुक्रबार १२:५२,

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले इराकमा कति नेपाली छन्, त्यसको तथ्यांक नभएको बताएका छन्।

इराकका लागि राजदूतको जिम्मेवारीसमेत पाएका भण्डारीले पश्चिम एसियामा तनाव कम भएपनि त्यहाँ रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था आइपरे आफूहरु सजग र तयारी अवस्थामा रहेको जानकारी दिए।

यद्यपि परिआए नेपालीहरुलाई घर फर्काउने कुनै पनि संयन्त्र छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकमा इरानी सेनाका जर्नेल कासिम सुलेमानीको हत्या भएपछि पश्चिम एसियामा युद्धको सम्भावना बढेको थियो। हत्याको बदला भन्दै इरानले इराकस्थित दुई अमेरिकी सैन्य शिविरमाथि २२ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

‘अहिले तनाव कम भएको छ। तर, ढुक्क हुने अवस्था भने छैन। सबै जना सजग र तयारी अवस्थामा हुनैपर्छ,’ राजदूत भण्डारीले नेपालखबरसँग भने, ‘हामी इराकमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा छौं। उहाँहरुले पनि पछिल्लो समयमा तनाव कम भएकोमा सन्तोष मान्नुभएको छ।’

भण्डारीका अनुसार धेरै नेपालीहरु इराकको उत्तरी कुर्दिस्तान क्षेत्रका अरविल र सुलेमानियामा कार्यरत छन्। अरविलमै रहेको अमेरिकी सैन्य शिविरमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको थियो।

तर, इराकमा कति नेपाली छन्, त्यसको यकिन तथ्यांक नभएको राजदूत भण्डारीले बताए। उनले इराकमा जान प्रतिबन्ध लगाइएका कारण त्यहाँ कति सख्यामा नेपाली छन् भन्ने तथ्यांक कुनै पनि निकायसँग नभएको स्पष्ट पारे। दूतावासले १० देखि २० हजारको बीचमा नेपालीहरु इराकमा हुनसक्ने अनुमान गरेको छ।

यद्यपि त्यहाँ रहेका नेपालीको सुरक्षा नेपालको प्रमुख चासो भएको उनको भनाइ थियो।

‘पहिलो विषय भनेकै जहाँ भएपनि नेपालीको सुरक्षा हो,’ उनले भने, ‘त्यसैले हामी ठ्याक्कै कति नेपाली हुनुहुन्छ र कहाँ कहाँ हुनुहुन्छ भनेर यकिन गर्ने कोसिसमा छौँ।’

इराकबाट नेपाल फर्किन चाहने नेपालीहरुले आग्रह गरेअनुसार आवश्यक कागजात पनि उपलब्ध गराउने गरेको उनले बताए। नेपालखबरसँग सम्पर्कमा आएका केही नेपालीहरुले तनावको कारण छिट्टै घर फर्किन चाहेको बताएका थिए।

इराकमा उत्पन्न भएको समस्यापछि त्यहाँ सरकारी प्रतिनिधि पठाउनु पर्ने माग भएको छ। तर राजदूत भण्डारीले अहिले नै त्यस्तो अवस्था आइनपरेको बताए। इराकमा प्रतिनिधि पठाउने वा नपठाउने विषयमा परराष्ट्र मन्त्रालयले निर्णय गर्ने उनले बताए।

नेपाल सरकारले वैदेशिक रोजगारीमा इराक जान प्रतिबन्ध लगाएको छ। तर विभिन्न कम्पनीको माध्यमबाट सैनिक शिविर तथा अन्य स्थानमा काम गर्न नेपालीहरु जाने गरेका छन्। इराकमा घरेलु कामदारको रुपमा जाने महिलाका संख्या पनि ठूलो छ।

इरान र अमेरिकाबीच तनाव बढेपछि सम्बन्धित नेपाल सरकारले दूतावास र त्यस क्षेत्रमा रहेका नेपालीलाई एक अर्कासँग सम्पर्कमा रहन आग्रह गरेको थियो।

याे पनि:
इराकमा त्रास बढेको छ, छिट्टै घर फर्किन चाहन्छौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .