प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयप्रति गर्व लागेको बताएका छन्।
वेपत्ता योद्धा परिवार समाजले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्ध र जनआन्दोलनका योद्धाहरुलाई शहीद घोषणा गर्ने, फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताए।
उनले भने, ‘मैले ती हजारौं जनयुद्धको शहीदहरुलाई राजपत्रमा शहीदको रुपमा घोषणा गरेर मैले धेरै हल्ला नगरीकन आफ्नो काम गरेँ भन्ने लाग्या छ। त्यसपछि जनयुद्धको दिनलाई के दिन मान्ने भन्ने पनि थियो। मैले धेरै होहल्ला नगरिकन जनयुद्ध दिवसको दिन राष्ट्रिय बिदा दिने निर्णय गरेँ। र, जनयुद्ध दिवस मनाउने निर्णय गरियो। कतिपयलाई त्यत्ति सहज नलोको हुन सक्छ। तर मैले त्यो गरेँ।’
उनले केही दिन भित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित हुने पनि बताएका बताए।
उनले सबै दलको सहमतीमा नै सो विधेयक संसदबाट पारित हुने दाबी समेत गरे। प्रधानमन्त्री दाहालले वेपत्ता योद्धाहरुको स्थिति सार्वजनिक गर्ने, उनीहरुलाई शहीदको सम्मान दिने र परिवारलाई उचित क्षतिपूति, परिपुरणसहितको व्यवस्था गर्न आफू पूरै लागिपर्ने बताए।
उनले शान्ति प्रक्रियाका बाँकी काम २ वर्ष भित्रै टुंगोमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरे।
Shares
प्रतिक्रिया