ad ad

राजनीति


यी छोरी, जो थिएनन् ‘फर्स्ट लेडी’

यी छोरी, जो थिएनन् ‘फर्स्ट लेडी’

गंगा दाहाल, उषाकिरण भण्डारी, सुजाता कोइराला र अनिता यादव


नेपालखबर
असार ८, २०८० शुक्रबार १३:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमण (१७–२० जेठ) सकिएको पनि दुईहप्ता बितिसकेको थियो। प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भ सेलाइसक्दा मंगलबार (५ असार) मा माओवादी उपमहासचिव समेत रहेका पूर्वमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको एउटा महत्वपूर्ण समितिमा भ्रमणबारे एउटा महत्वपूर्ण सन्दर्भ उप्काए।

माओवादी नेता पुनले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उठाएको त्यो विषय थियो– भारत भ्रमणका क्रममा सिर्जना भएको ‘फर्स्ट लेडी’ सम्बन्धी विवाद। यो विषयलाई प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई हप्ताअघि प्रतिनिधि सभाको रोष्ट्रममा उठाएपछि थप चर्चित बनेको थियो।

‘विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि प्रथम राष्ट्रपति डा रामवरण यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले समेत विदेश भ्रमणमा छोरीलाई ‘प्रथम महिला’ का रुपमा लैजाने गरेका थिए’ माओवादी नेता पुनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भनेका थिए, ‘राष्ट्रप्रमुख र सरकार प्रमुखको विदेश भ्रमणका समयमा कसलाई प्रथम महिला मान्ने कसलाई नमान्ने भन्नेबारे अब स्पष्ट नीति हुनुपर्छ। यसका लागि परराष्ट्र मन्त्रालयले अग्रसरता देखाउनु पर्छ।’

प्रधानमन्त्री प्रचण्ड, गंगा दाहाल, अजित डोभाल र विनयमोहन क्वात्रा (वायाँ दोस्रो)

‘फर्स्ट लेडी’ बारे त्यो विवाद 
१७ जेठमा भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीमा रहँदा त्यहाँस्थित मौर्य होटललाई मुकाम बनाएका थिए। पूर्व निर्धारित कार्यक्रम अनुसार १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको भेटवार्ता तय भएकाले त्यसै विषयमा छलफल गर्न मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल १७ जेठ साँझ होटल मौर्य पुगेका थिए।

डोभालको साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रापनि थिए। पूर्व निर्धारित सेड्युलमा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालका साथ क्वात्रा जाने कार्यक्रम भने थिएन।

क्वात्राका साथ जतिबेला डोभाल प्रचण्डसँग भेटका लागि होटल मौर्य पुगे, सरकारी अधिकारीहरु वरिपरि थिएनन्। त्यसैले परराष्ट्र मन्त्रालय र अन्य उच्च सरकारी अधिकारीविना नै प्रचण्ड–डोभाल–क्वात्राबीच कुराकानी भयो। यो भेटवार्तामा प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहाल पनि सहभागी थिइन्।

सार्वजनिक भएको त्यो भेटवार्ताको तस्वीरमा विदेशसचिव क्वात्रा प्रचण्ड–डोभालबीचको कुराकानी नोट गर्न तयार हालतमा देखिन्छन्। उनको हातमा डायरी र कलम छ।

प्रधानमन्त्री पुत्री दाहालको हातमा भने मोवाइल र सानो स्पाइरल डायरीमात्र छ, कलम छैन। हुने कुरापनि होइन। किनकी यस्तो भेटवार्ताको नोट परराष्ट्र मन्त्रालयका अधिकारीहरुले गर्ने हो।

‘फर्स्ट लेडी’ सम्बन्धी विवाद प्रचण्ड–डोभालबीचको यही भेटवार्ताबाट सुरु भयो। डोभाल परराष्ट्र सचिव क्वात्रा सहित आउने र क्वात्राले दुईपक्षीय कुराकानीको ‘नोट’ गर्ने, तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयका अधिकारीको साटो छोरीलाई वार्तामा सहभागी गराएको विषय विवादित र आलोचित बन्यो।

यो जायज आलोचनाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्ड समर्थक पंक्तिले ‘गंगा दाहाल ‘फर्स्ट लेडी’ को हैसियतमा भ्रमणमा गएकाले उनको उपस्थितिलाई अन्यथा मान्न हुँदैन’ भन्ने तर्क सामाजिक सञ्जालमार्फत् गर्यो।

प्रतिवादका लागि प्रधानमन्त्री समर्थकहरुको तर्कसँगै उनी ‘फर्स्ट लेडी’ को हैसियतमा गएकी हुन् कि होइनन् भन्ने प्रश्न उठ्यो। प्रश्न किनपनि उठेको थियो भने, प्रधानमन्त्रीका समर्थकहरुले गंगालाई ‘फर्स्ट लेडी’ भनेपनि भारत भ्रमणअघि उनको तोकिएको जिम्मेवारी ‘स्वकीय सचिव’ को रुपमा मात्र थियो।

भारत भ्रमणमा गंगा ‘स्वकीय सचिव’ का हैसियतमा सहभागी भएकी हुन् वा अन्य कुनै हैसियतमा– यो विषयलाई तत्काल प्रष्ट पार्न प्रधानमन्त्रीको सचिवालयले पनि चाहेन।

यो गम्भीर सन्दर्भलाई प्रमुख प्रतिपक्षी नेता ओलीले प्रतिनिधि सभाको २२ जेठको बैठकमा उठाए। तर, अलिक भद्दारुपमा।

‘छोरालाई लाने हो भने ‘फर्स्ट जेन्टलम्यान’ भन्ने हो? नातिनी लिएर जाँदा ‘सेकेण्ड लेडी’ भन्ने हो कि?’ ओलीले प्रश्न गरे, ‘यो कस्तो भ्रमण हो– यो फ्यामिली भ्रमण हो कि, धार्मिक वा पर्यटकीय भ्रमण हो?’

यी प्रश्नसँगै ओलीले लेक्चरको शैलीमा ‘प्रोटोकल’ सम्बन्धी सन्दर्भपनि उप्काएका थिए। उनको भनाई थियो, ‘प्रधानमन्त्रीको भ्रमणमा पिए (स्वकीय सचिव) छोरी छेउमा देखिन्छिन्। तर, परराष्ट्र मन्त्री र परराष्ट्र सचिव छैनन्। ‘फर्स्ट लेडी’ भनेको श्रीमति हुन्छन्, छोरा वा छोरी हुँदैनन्। परिवारका सदस्यलाई ‘फर्स्ट लेडी’ भनिँदैन।’

‘फर्स्ट लेडी’ श्रीमति हुन्, छोरी होइनन् 
प्रतिनिधि सभाको त्यसदिनको बैठकमा ‘फर्स्ट लेडी’ बारे ओलीको परिभाषामा आंशिक सत्यता मात्रै रहेको जानकारहरु बताउँछन्। ओलीले आफूलाई अनुकूल पर्ने गरी ‘फर्स्ट लेडी भनेको श्रीमतिमात्र हुन्छन्’ भन्न खोजेको बुझिन्छ।

ओली प्रधानमन्त्री छँदा साथमा श्रीमति राधिका शाक्य रहन्थिन्। ‘फर्स्ट लेडी’ बारे ओलीको उपरोक्त व्याख्या अनुसार प्रधानमन्त्रीका रुपमा ओली विदेश भ्रमणमा जाँदा सँगै रहने पत्नी राधिका शाक्यलाई ‘फर्स्ट लेडी’ को हैसियत दिनुपर्ने हुन्छ।

‘निश्चय नै ‘फर्स्ट लेडी’ श्रीमतीलाई नै भनिन्छ’ परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) माधव खनाल भन्छन्, ‘तर, प्रधानमन्त्री वा मन्त्रीका श्रीमतिलाई ‘फर्स्ट लेडी’ भनिँदैन।’

खनालले थपे, ‘अन्तर्राष्ट्रिय कुटनीतिक प्रचलन अनुसार राष्ट्राध्यक्षका श्रीमतिले मात्र ‘फर्स्ट लेडी’ को मान्यता प्राप्त गर्छन्। तर, हामीले प्रधानमन्त्रीका श्रीमतिलाई पनि ‘फर्स्ट लेडी’ भनिदिने गरेका छौँ। अहिले त कतिपयले छोरीलाई समेत ‘फर्स्ट लेडी’ भन्न थालेका छन्। यो गलत हो।’

पूर्व परराष्ट्र सचिव डा मदन भट्टराई प्रधानमन्त्री राष्ट्राध्यक्षको हैसियतमा छन् भने प्रधानमन्त्री पत्नीलाई पनि ‘फर्स्ट लेडी’ भन्न सकिने बताउँछन्।

उनी भन्छन्, ‘तर, प्रधानमन्त्रीलाई राष्ट्राध्यक्षको जिम्मेवारी प्राप्त छैन भने विदेश भ्रमणमा साथमा रहने उनकी श्रीमतिलाई ‘फर्स्ट लेडी’ भनिँदैन।’

बिसं २०६३ को राजनीतिक परिवर्तनपछि जब राजतन्त्र निलम्बित भयो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्राध्यक्षको समेत जिम्मेवारी प्राप्त गरे। कोइरालाको भारत भ्रमणमा छोरी सुजाता कोइराला साथमा थिइन्।

एसिया फोरमको बैठकका क्रममा चीनको बोआओमा चिनियाँ प्रथम महिला फेङ लिउवान र अन्य मुलुकका प्रथम महिलाहरुका साथ अनिता यादव (रातो कपडामा), १४ चैत्र २०७१। यो तस्वीर बोआओको बेतिङ्ग गाउँमा सार्वजनिक स्थलमा राखिएको छ। (फोटोः सीताराम बराल)

प्रधानमन्त्री कोइराला राष्ट्राध्यक्षको भूमिकामा समेत रहेकाले सुजातालाई कतिपयले ‘फर्स्ट लेडी’ को उपमा दिने गरेका थिए। सुजाताजस्तै विदेश भ्रमण्का क्रममा पूर्व राष्ट्रपति डा रामवरण यादवको साथमा छोरी अनिता यादव र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा जेठी छोरी उषाकिरण रहने गर्थे।

कोइराला, डा यादव, भण्डारी राष्ट्राध्यक्षको भूमिकामा रहेकाले सुजाता, अनिता र उषाकिरणलाई पनि ‘फर्स्ट लेडी’ मान्ने गरिन्थ्यो। ‘तर, अन्तर्राष्ट्रिय प्रचलन अनुसार उनीहरुको हैसियत ‘फर्स्ट लेडी’ को थिएन’ खनालले थपे, ‘किनकी उनीहरु राष्ट्राध्यक्षका छोरी थिए। जबकि ‘फर्स्ट भनेको राष्ट्राध्यक्षका श्रीमतिले प्राप्त गर्ने हैसियत हो।’

पूर्व परराष्ट्रसचिव डा भट्टराई र पूर्व शिष्टाचार महापाल खनालको भनाईबाट देखिन्छ, न राष्ट्रपति छँदा डा यादव र भण्डारीका साथमा रहने छोरीहरु क्रमशः अनिता र उषाकिरण दुबै ‘फर्स्ट लेडी’ थिए, नत कोइराला राष्ट्राध्यक्ष छँदा साथमा विदेश भ्रमणमा जाने सुजातालाई नै यो हैसियत प्राप्त थियो।

यही कुरा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा साथमा रहेकी गंगाको हकमा पनि लागू हुन्छ।

त्यसो भए भारत भ्रमण दलमा प्रधानमन्त्री पुत्री गंगा दाहाललाई के हैसियत प्रदान गरिएको थियो? परराष्ट्र मन्त्रालयका अधिकारीहरु यो विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन्।

भ्रमण सम्बन्धमा तयार पारिएका दस्तावेजमा गंगालाई ‘प्रधानमन्त्रीकी छोरी’ को रुपमा मात्र सहभागी गराएको देखिन्छ। भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयार पारेको कार्यक्रमको समग्र विवरण (आइटिनरी) मा दाहाललाई ‘प्रधानमन्त्रीकी छोरी’ मात्र भनिएको छ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण दलको नामावली 

पूर्व शिष्टाचार महापाल खनालका भनाईमा, प्रधानमन्त्री होस् वा राष्ट्राध्यक्ष– श्रीमान् वा श्रीमति नभएको अवस्थामा कुनै सन्तति भ्रमण दलमा सहभागी हुन्छन् भने भ्रमण दलमा त्यही नाता (छोरा वा छोरी) उल्लेख गर्ने परम्परा छ।

‘प्रधानमन्त्रीकी श्रीमान् वा श्रीमति साथमा रहन्छन् भने ‘स्पाउज’ (पति।पत्नी) उल्लेख गरिन्छ’ खनालले भने, ‘पति वा पत्नीको साटो छोरी वा छोरा भ्रमण दलमा सहभागी हुन्छन् भनेपनि त्यही नाता उल्लेख हुन्छ।’

पूर्व परराष्ट्र सचिव डा भट्टराईका अनुसार, बिसं २०४० को दशकमा भारतीय राष्ट्रपति ज्ञानी जैल सिंह नेपाल भ्रमणमा आउँदा उनकी छोरी डा मन्जित कौर साथमा थिइन्। स्वास्थ्यका कारण राष्ट्रपति पत्नी प्रधान कौर साथमा आउन नसकेकाले छोरी मन्जित आएकी थिइन्।

‘डा मन्जित कौरलाई पनि ‘फर्स्ट लेडी’ भनिएन, छोरीकै हैसियतमा आफ्ना पिता राष्ट्रपति ज्ञानी जैल सिंहका साथ नेपाल आएकी थिइन्,’ डा भट्टराईले भने, ‘राष्ट्रपतिका साथ उनी जुन–जुन मुलुकको भ्रमणमा गइन्, उनलाई राष्ट्रपतिकी छोरी नै भन्ने गरिन्थ्यो।’

पति वा पत्नीको विकल्पमा भ्रमण दलमा सामेल हुने भएकाले भ्रमण दलमा सामेलमध्ये एकजना छोरा वा छोरीलाई राष्ट्रपति वा प्रधानमन्त्री पछिको वरियता दिने अन्तर्राष्ट्रिय प्रचलन नै हो।

त्यसैले, प्रधानमन्त्री कोइराला होउन् वा राष्ट्रपति डा यादव वा भण्डारी– क्रमशः सुजाता, अनिता र उषाकिरणपनि विदेश भ्रमणको सूचीमा दोस्रो बरियतामा राखिन्थे। यस पटक गंगालाई पनि त्यही दोस्रो बरियता प्राप्त थियो।

राष्ट्रपति डा यादव छँदा कतिपय भ्रमणमा अझ रोचक हुन्थ्यो। भ्रमण दलमा छोरी अनिता र छोरा डा चन्द्रमोहन यादवपनि रहन्थे। डा चन्द्रमोहन नातामा अनिताका दाजु हुन्। पदीय हिसावले उनी संसद सदस्यपनि थिए। तर बरियतामा भने उनलाई बहिनी अनिताको पछि राखिन्थ्यो।

‘छोरी अनिता राष्ट्रपति डा यादवपछिको दोस्रो बरियतामा हुन्थिन्, भ्रमण दलमा सामेल मन्त्री, सचिव र संसद सदस्यहरुको बरियता अनिता भन्दा पछि हुन्थ्यो,’ यादव राष्ट्रपति छँदा परराष्ट्र सचिव रहेका डा भट्टराई भन्छन्, ‘डा चन्द्रमोहन संसद सदस्यको हैसियतमा जाने भएकाले बरियतामा उनी अनिता भन्दा निकै पछि रहन्थे।’

बरियतामा राष्ट्रपति वा प्रधानमन्त्रीपछिको ठीक पछिल्तिर रहने भएपनि त्यो बरियतालाई ‘औपचारिक पद’ वा हैसियत चाहिँ मानिँदैन। यस हिसावले महत्वपूर्ण वार्तालापहरुमा उनीहरुको सहभागितालाई जानकारहरु ‘अवान्छित’ मान्छन्।

‘भ्रमण दलमा दोस्रो बरियतामा रहने पति–पत्नी वा छोरा–छोरी सेरेमोनियल खालका कार्यक्रमहरुमा राष्ट्रपति वा प्रधानमन्त्रीसँग रहन सक्छन्, औपचारिक रिसेप्सनमा पनि उनीहरु सँगै रहन्छन्,’ खनालले भने, ‘तर, द्विपक्षीय वार्ता र ‘कर्टसी कल’ मा पनि यस्ता पारिवारिक सदस्यहरु रहन्छन् भने त्यो नाजायज हो। किनकी उनीहरु पारिवारिक सदस्यमात्र हुन्, राज्यका अधिकारी होइनन्।’

राजनीतिक नेतृत्व र तिनका परिवारलाई यस्तो कुटनीतिक प्रचलनको जानकारी नहुनसक्छ।

‘परराष्ट्र मन्त्रालयका अधिकारीहरुले यो कुरा राष्ट्रपति वा प्रधानमन्त्री र साथमा रहने परिवारका सदस्यहरुलाई स्पष्टसँग बताइदिनुपर्छ,’ खनाल भन्छन्, ‘परराष्ट्र मन्त्रालयका अधिकारीहरुमा यो कुराको कमी भने देखिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .