ad ad

राजनीति


मधेशमा योगेशको ‘पिस किपिङ मिसन’, एमालेको झगडा मिलाउने मुख्य चुनौती

भन्छन : पार्टी सदस्य घटेका छैनन्
मधेशमा योगेशको ‘पिस किपिङ मिसन’, एमालेको झगडा मिलाउने मुख्य चुनौती

नेकपा एमालेका सचिव योगेश भट्टराई। तस्बिर : राजेन्द्र श्रेष्ठ


नेपालखबर
साउन ११, २०८० बिहिबार १७:४५, काठमाडौँ

गत १९ जेठमा बसेको नेकपा एमाले सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज फेरेपछि मधेशको जिम्मेवारी पाए सचिव योगेश भट्टराईले।

मिसन ग्रासरुट अन्तर्गत कर्णालीमा डेढ महिना बिताएर फर्किएका उनले मधेशका तत्कालीन इन्चार्ज रघुवीर महासेठको स्थान लिए।

जेठ १९ बाट मधेश प्रदेश इन्चार्जको जिम्मा पाएका उनी त्यसको १२ दिनपछि अर्थात् जेठ ३२ गते आफ्नो नयाँ कार्यक्षेत्रमा पसे।

जेठ ३२ गते एमाले मधेश प्रदेशको सचिवालय बैठकमा सहभागी भएर नयाँ कार्यक्षेत्रमा पार्टी अभियान थालेका उनी यो डेढ महिनाबीचमा ४१ वटा बैठकमा भाग लिए। जसमा ८ वटै जिल्ला कमिटीका बैठक पनि थिए। 

तत्कालीन इन्चार्ज महासेठ र मंसिर ४ को चुनावअगाडि एमाले छाडेका प्रभु साहबीचको किचलोका कारण मधेशमा एमालेको सांगठानिक अवस्था अस्तव्यस्त जस्तै थियो।

चुनावको केही दिनअघि मात्रै एमाले छाडेका प्रभु साहका कारण एमालेले २०९ मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा केही धक्का ब्यहोर्यो।

यद्यपि एमालेले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा २४ सिट जित्यो। रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरणकुमार साह पुस १९ मा एमालेमा प्रवेश गरेका थिए। 

मधेशबाट प्रदेश सभा र संघीय संसद‍मा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमालेले आफूलाई इन्चार्ज बनाएपछि नयाँ क्षेत्रमा खटिएका भट्टराईले हरेक जिल्लामा झगडा देखेका छन्। 

उनी यो एक महिनाबीचमा मधेशका ८ वटै जिल्ला सदरमुकाम पुगे। उनकै भनाइअनुसार अबको दोस्रो चरणमा देहातको यात्रा सुरु हुनेछ। 

उनले अन्य प्रदेशमा भन्दा चर्को अन्तरविरोध र गुटबन्दी मधेशको एमालेमा देखे। जनता समाजवादीसँग गठबन्धन गरेर पहिलो दल बनेको एमालेले मधेशमा अहिले रहेका ८० हजार संगठित सदस्यलाई बढाएर १ लाख ७५ हजार बनाउने योजना लिएको छ। 

‘यो एक महिनाबीचमा आमजनताबाट सकारात्मक प्रतिक्रिया आएको छ। मधेशमा एमालेका पक्षमा माहोल देखिन्छ। तर एमालेको आन्तरिक समस्या र अन्तरविरोध धेरै देखियो’, उनले भने, ‘हरेक जिल्लामा एमालेभित्र आन्तरिक द्वन्द्व र गुटबन्दी चर्को रहेछ। अहिलेसम्म लड्नेहरुलाई नै मिलाउने योजना बनाएको छु।’

बिहीबार काठमाडौंमा केही सञ्चारकर्मीमाझ अन्तरक्रियाका लागि उपस्थित भएका उनले हरेक जिल्ला इन्चार्जहरुलाई पार्टीभित्रको झगडा मिलाउन निर्देशन दिएको बताए। 

‘मैले हरेक जिल्ला इन्चार्जहरूलाई त‍ोकेर प्रदेश कमिटी सदस्य, केन्द्रीय सदस्य र जिल्ला कमिटीका पदाधिकारी राखेर सबै झगडा मिलाउन भनेको छु’, उनले आफ्नो योजना सुनाए, ‘हरेक पालिकामा हाम्रा केन्द्रीय सदस्य छन्। केन्द्रीय सदस्यहरुको नेतृत्वमा पालिकामा पार्टीका अगुवा बसेर झगडा मिलाउने, माफी दिने भनेको छु। तर पालिकामा नमिलेको झगडा जिल्लामा पठाएर मिलाउने गरी योजना बनाएका छौँ।’

कुनै बेला मधेशविरोधी पार्टीका रुपमा चित्रित एमाले २०७९ मंसिरको चुनावी परिणामबाट हौसिएको छ। त्यहीकारण अहिले मधेशका हरेक जिल्लामा रहेको आन्तरिक झगडा मिलाउने पहिलो योजना योगेशले बनाएका हुन्। 

‘साउन मसान्तसम्म सबै जिल्लाका विवाद र झगडा टुंग्याउने योजना बनाएका छौँ। पार्टी नेता कार्यकर्ताले के गर्न पाउने नपाउने नियम बनाएको छु’, उनले भने, ‘मधेशका सबै केन्द्रीय सदस्यसम्मको रिपोर्टिङ मागिसकेका छौँ। एमालेको संगठन अझै बलियो बनाउन जुली महतोसहितको नेतृत्वमा एउटा कार्यदल नै बनाएका छौँ। जसले ६ महिनामा सबै जिल्लाबाट सुझाव लिएर अघि बढ्नेछ।’ 

सचिव भट्टराईले मधेशका अहिले पनि एमालेमा प्रवेश गर्नेको लहर रहेको दाबी गरे। ‘एमालेमा प्रवेश गर्नेको लहर चलेको छ। अबको ६ महिनामा सम्भवत: एकीकृत समाजवादीका जिल्ला कमिटी बन्द होलान्’, उनले भने, ‘यसअघि पार्टी प्रवेश गराउँदा भद्रगोल थियो। तर अब पार्टी प्रवेश गराउनलाई एकै च्यानल प्रयोग गर्ने भनिएको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराउँदा पनि एकै च्यानल उपयोग हुन्छ। त्यसो भएमा कार्यकर्तामा पनि अपनत्व बढ्छ।’

सचिव भट्टराईले यदि प्रभु साहले गडबड नगरेको मधेशमा एमालेले प्रतिनिधिसभामा १५ सिट जित्ने दाबी गरे। उनका अनुसार मधेशमा पार्टीको जनसंगठनका प्रदेश कमिटी पनि सक्रिय थिएनन्। 

पार्टी विस्तार प्रभावकारी बनाउन आगामी असोज ५/६ गते मधेश प्रदेशको अधिवेशन तोकिएको पनि उनले बताए।

सचिव भट्टराईले एमालेका सदस्यता बाहिर प्रचार गरे जस्तो नघटेको पनि तर्क गरे। 

‘पार्टी सदस्यहरु घटेको कुरामा केही सत्यता छ। तर बाहिर प्रचार गरे जस्तो होइन। यसमा केही प्राविधिक कुरा पनि छ। यसअघि हरेक वर्ष नवीकरणको चलन थिएन’, उनले भने, ‘यस पटक सम्बन्धित व्यक्तिलाई बोलाएरै नवीकरण गर्न लगायौँ। मधेशमा अहिले एामलेको सदस्यता ८० हजार छ। प्रभु साह आएर हुलमुलमा २० हजार थपेछन्, जसको कुनै हिसाबकिताब छैन। अहिलेसम्म ५० हजार नवीकरण भएको छ। २९ हजार नयाँ निवेदन आएको छ। यस्तो हुँदा मधेशमा एमालेका संगठित सदस्य ८० हजार हाराहारी यथावत रहन्छन्।’

उनले गत मंसिरको चुनावमा मधेशमा एमालेका लागि खसेको साढे ३ लाखबाट सात लाख भोट पुर्‍याउने योजनासहित संगठन निर्माण र विस्तार थालिएको बताए। 

‘अब मधेशमा हाम्रा ११ हजार बढी टोल कमिटी हुन्छन्। चैतसम्म सदस्यता १ लाख ७१ हजार बनाउने योजना छ। त्यसो हुँदा संगठित सदस्य मात्रै १ लाख ७५ हजार पुग्छन्’, उनले भने, ‘मधेशका सबै ठाउँमा एमालेभित्र विवाद छ। हिजो पार्टीमा नेताहरूबीच विवाद थियो। माधव नेपाल हुँदा दुई गुटको विवाद थियो। अहिले केपी ओली नमान्ने कोही छैन। तर पनि तल विवाद छ। हामीले पहल गर्ने हो भने हाम्रो सबै विवाद मिल्न सक्छ।’

उनले पार्टीभित्र पनि अनेक विकृति रहेको सुनाए। ‘बितेको चुनावमा मधेशमा एकै सिटमा तीन टिकट पनि गए छ। त्यसो हुँदा नेताहरुबीच फाटो भएर कार्यकर्तामा पनि असर पर्‍यो। अहिले पनि त्यो विवाद बाँकी रहेछ’, भट्टराईले भने, ‘अहिले मैले आफूलाई मधेशको पिस किपिङ मिसनमा आएको भनेको छु। यही परिस्थितिमा बहुमत ल्याउन सक्ने पार्टी एमाले मात्रै हो, अन्तरविरोध व्यवस्थापन गर्न सकेमा हामी बहुमत ल्याउन सक्छौँ। त्यसका लागि मधेश निर्णायक भएकाले हामी सबै विवाद मिलाएर पार्टीलाई एकढिक्का बनाउँछौँ।’

मधेश प्रदेशको मुख्य समस्या आर्थिक र सामाजिक क्षेत्रमै रहेको उनले बताए। ‘मधेश प्रदेशमा अझै पनि आर्थिक र सामाजिक चुनौतीहरु छन्। छुवाछुत छ। ठूलो संख्यामा मुसहर समुदायले नागरिकता पाउन सकेका छैनन्’, उनले भने, ‘ठूलो भूभाग भए पनि सिँचाइ छैन। त्यसैले कोशी, कमला र सुनकोसीको पानी लैजान सके उब्जनी बढेर मधेश समृद्ध बन्न सक्छ।’

उनले मधेशमा महिला हिंसासहितका विसंगति धेरै रहेको सुनाए। मधेशमा पुलिसको भूमिका पनि राम्रो नरहेको उनले टिप्पणी गरे। अहिले पनि प्रहरीले राजनीतिक दबाबमा गम्भीर अपराधका मुद्दा नलिने समस्या रहेको उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .