नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतबाट रद्द भए पनि जनयुद्ध दिवस भब्य रुपमा मनाउने बताएका छन्।
जनयुद्धको दिवसका अवसरमा शुभकामना दिँदै वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
माओवादीको विधान अधिवेशनका क्रममा सम्बोधन गरेका उनले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिए पनि अदालतले रद्द गरिदिएपछि त्यसलाई स्वीकार गर्नुपरेको बताए।
सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरूले यस बिदालाई भब्यरुपमा मनाउने उनले बताए। यस दिनलाई सबैले उच्च सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
‘नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन’, उनले भने, ‘शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो।’
संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्रै आफूहरूको लक्ष्य नभएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्रतर्फ जाने बताए।
समाजवादको नयाँ आधार तयार पार्न सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया