ad ad

राजनीति


प्रभु साहको आक्रोश : ‘जनयुद्ध'का नेता गद्दार, प्रचण्ड सरकार भ्रष्टाचारीको संरक्षक

प्रभु साहको आक्रोश : ‘जनयुद्ध'का नेता गद्दार, प्रचण्ड सरकार भ्रष्टाचारीको संरक्षक

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार १४:५०, काठमाडौँ

आमजनता पार्टीका अध्यक्ष प्रभु साहले ‘जनयुद्ध’का मुद्दा सही भए पनि नेताहरू गद्दार निस्किँदा अलपत्र परेको बताएका छन्। 

नेताहरूले गद्दारी गरिदिँदा ‘जनयुद्ध’का मुद्दा र त्यसमा सरोकार राख्ने जनता अहिलेको दिनमा अलपत्र परेको उनले बताए।

‘जनयुद्ध’ दिवसको अवसरमा पार्टीले मंगलबार पर्सामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 

जसका लागि ‘जनयुद्ध’ गरिएको हो, उनीहरूलाई नै ‘जनयुद्ध’ हाँकेका नेताले बिर्सिएर व्यक्तिगत स्वार्थमा लागेको साहले आरोप लगाए।

किसान र मजदुर वर्ग अझै पीडामा रहे पनि ‘जनयुद्ध’का नेताहरु सत्ता–स्वार्थमा लिप्त रहेको उनले आरोप लगाए।

‘त्यही सत्ता स्वार्थले देश बर्बाद छ। मुठ्ठीभरका मानिस मालामाल छन्। आम जनता बर्बाद भइरहेका छन्। नेताहरुलाई सोध्न चाहन्छौँ–हिजो तपाईंहरु किसान र मजदुरको रगतबाट नेतृत्वमा पुग्नुभयो, अहिले कसको नेतृत्व गर्दै हुनुहन्छ? वास्तवमा तपाईंहरुले खोला तर्नुभयो, लौरो बिर्सिनुभयो’, उनले भने, ‘जसको बलमा तपाईंहरू नेता बन्नुभयो, सिंहासनमा पुग्नुभयो। माओवादी भनेको इस्युको आन्दोलन थियो, जनताको मुद्दा थियो। अहिलेको प्रचण्ड नेतृत्वको सरकार कसको हो? यो सरकारले किसान र मजदुरको काम गरेको छ त? यो सरकार भ्रष्टाचारीको संरक्षक हो।’

वर्तमान सरकारले भगौडाहरूको हितका लागि काम गरेको उनले बताए। किसानलाई मार्ने काम गरिरहेको साहको गम्भीर आरोप छ।

जनताको पसिना लुटेर खान ‘जनयुद्ध’ नभएको उनले स्मरण गराए। उनले अहिले तल्लो वर्ग र उत्पीडनमा परेकाहरुको हालत जस्ताको त्यस्तै रहेको आरोप लगाए।

उनले प्रधानमन्त्री प्रचण्डलाई छद्यमभेषीको संज्ञा दिए। उनले आफूहरुले अब सही कुरा बुझाउनुपर्ने बेला आएको सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .