नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालिन अवस्थामा निर्भर हुने बताएका छन्।
‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालिन परिस्थितिमा निर्भर हुने भएकाले पार्टीले त्यतिबेला उचित निर्णय लिनसक्नेछ,’ उनले भने।
साथै, उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन बनेकाले अहिले त्यसलाई निरन्तरता दिने राजनीतिक जिम्मेवारी हुने पनि बताए।
‘यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन पुगेको छ’, उनले भने।
पार्टीको आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवालले अहिलेको गठबन्धनको विकल्प नभएको समेत बताए। अहिलेको निर्वाचन प्रणालीमा एकल बहुमत सम्भव नभएकाले गठबन्धनको विकल्प नभएको उनको भनाइ छ।
‘अहिलेको गठबन्धनको सरकार १० महिनाअघि मात्रै बनेको होइन। केही महिनाअघि प्रदेशसभालाई असमयमा विघटन गर्ने र मुलुकको राजनीति अस्थिरता ल्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास भए,’ उनले अघि भने, ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै अग्रसरतामा गठबन्धन बनेको हो। वर्तमान सरकार त्यसैको निरन्तरता हो।’
संविधानको रक्षालाई प्राथमिकता एजेन्डाको रुपमा लिएको बताउँदै देउवाले महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यो विषयलाई लिएको दाबी गरे।
Shares
प्रतिक्रिया