प्रमुख सत्तारुढ नेपाली कांग्रेसको समग्र आर्थिक सूचक खस्किँदै गएको छ।
आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष ०७९/८० मा कांग्रेसका सबैजसो आर्थिक सूचक कमजोर भएको देखिएको छ।
कांग्रेसको समग्र खर्च बढ्दै जाँदा आम्दानी भनेर निरन्तर ओरालो लागेको देखिएको छ।
ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसको आम्दानीभन्दा खर्च धेरै हुँदा एकै वर्षमा एक करोड बढी घाटा बढेको हो।
घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी खर्चभने त्यसो दोब्बर अर्थात ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ भएको छ।
एक वर्षमा कांग्रेसको घाटा बढेर ४ करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ पुगेको हो। जुन आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ८४ हजार १३५ रुपैयाँ थियो।
कांग्रेसले अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा १४ करोड ८९ लाख ९४ हजार ८७ आम्दानी गरेको थियो। त्यसबेला यसको खर्च १७ करोड ९० लाख ७८ हजार २२२ थियो।
कांग्रेसले आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा क्रियाशील सदस्यता नवीकरण, लेबी शुल्क र चन्दा सहयोगलाई देखाएको छ।
कांग्रेसले चन्दावापद ०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार उठाएको थियो। तर आर्थिक वर्ष २०७९/८० मा चन्दा सहयोग घटेर २ करोड ६५ लाख ६४ हजार ५७७ मा झरेको छ।
घिमिरेका अनुसार कांग्रेसलाई महाधिवेशन, महासमिति बैठक, स्थानीय तह तथा प्रतिनिधि सभाको चुनावमा लाग्ने खर्चको लागि विभिन्न व्यक्ति, निकाय, नेपाली जनसम्पर्क समिति तथा पार्टीका शुभेच्छुकहरुले चन्दा सहयोग गर्दै आएका बताएका छन्।
कांग्रेसले आ.ब.२०७८/७९ मा चौधौँ महाधिवेशन तथा सम्मेलन सम्पन्न गरेको थियो। घिमिरेका अनुसार जसमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैया खर्च भएको बताए।
स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभाको निवार्चनमा आ. ब. २०७८/७९ मा १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैया खर्च भएको थियो।
त्यसैगरी कांग्रेसको कार्यालय सञ्चालन बापत त्यही वर्ष ४ करोड ११ लाख ५६ हजार १ सय ३ रुपैयाँ खर्च भएको छ।
कांग्रेसले आ.ब.२०७९/८० मा निवार्चन खर्चतर्फ ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ खर्च गरेको थियो।
त्यसैगरी यही वर्ष कांग्रेसले कार्यालय सञ्चालन बापत ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैयाँ, भ्रातृ संगठनसम्बन्धी खर्च ४९ लाख ६० हजार रुपैयाँ गरेको छ। यो वर्ष कांग्रेसले ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैयाँ खर्च गरेको छ।
Shares
प्रतिक्रिया