ad ad

राजनीति


गठबन्धन तोडेर प्रचण्डले धोका दिए, आवश्यक पर्दा जवाफ दिनेछौँ : खड्का

‘नीति अधिवेशनमार्फत पारित प्रस्तावलाई आम जनतामाझ लैजाने’
गठबन्धन तोडेर प्रचण्डले धोका दिए, आवश्यक पर्दा जवाफ दिनेछौँ : खड्का

नेपालखबर
फागुन २७, २०८० आइतबार १६:२८, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर माओवादी केन्द्रले मतदातालाई राजनीतिक रूपमा ठूलो धोका दिएको बताएका छन्।

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको वचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रूपमा ठूलो धोका भएको छ,’ आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका वाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने  उनको भनाइ थियो। ‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिले प्रचण्डले आफ्ना धारणा राख्नुहोला,’ खड्काले भने, ‘तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका वाचाको जवाफ उहाँले दिनुपर्छ।’

कार्यक्रममा उनले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने वाचा गरेर जनतासँग मत मागिएको स्मरण गरे।

प्रचण्ड सरकारमै उपप्रधान तथा रक्षामन्त्रीसमेत भएका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको शिर नझुक्ने गरेर काम गरेको ठोकुवा पनि गरे। ‘एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने कुनै पनि काम गरेका छैनौँ’, उनले भने, “बाँकी कुराहरू समयक्रममा राख्दै जाउँला।’ 

उपसभापति खड्काले पार्टीको नीति अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको टिप्पणी गर्दै महासमितिबाट आएका सुझावलाई समेट्दै चाँडै केन्द्रीय समिति बैठकमार्फत पारित गरेर पुस्तकका रूपमा प्रकाशन गर्ने जानकारी पनि दिए।

नीति अधिवेशनमार्फत पारित प्रस्तावलाई आम जनतामाझ लिएर जाने र समुदायमा कांग्रेस अभियानलाई फेरि सुरु गरिने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .