ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि, यस्तो छ प्रक्रिया

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि, यस्तो छ प्रक्रिया

राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायण दाहाल र युवराज शर्मा। तस्बिरः सरोज बैँजु


नेपालखबर
फागुन २८, २०८० सोमबार १८:७, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ। अध्यक्षको उम्मेदवारी २ जनाले दर्ता गराएका छन्।

नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ।

दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ। 

गठबन्धनमा तलमाथि नभए उनले बहुमत पाउने निश्चितजस्तै छ। यस गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ।  

कांग्रेसले सुरुमा कृष्ण सिटौलालाई अध्यक्षमा उठाउने भनेको कांग्रेसले गठबन्धनको गणित उल्टिएपछि युवराज शर्मालाई अघि सारेको छ।

माओवादीले पनि सुरुमा हालकै उपाध्यक्ष उर्मिला अर्याल वा नवनिर्वाचित सदस्य झक्कु सुवेदीको नाम चर्चामा ल्याएको थियो।

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाडेपछि माओवादी गठबन्धन नै तोडेर एमालेसँग मिसिन पुग्यो। एमालेसँग राष्ट्रिय सभा अध्यक्ष आफ्नो भागमा पार्ने गरी सहमति भएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन्।

संघीय संसद सचिवालयले उम्मेदवारको अन्तिम नामावली सोमबार प्रकाशित गरिसकेको छ।

यस्तो छ प्रक्रिया

एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएमा दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थनमा वक्तव्य दिने प्रक्रिया राष्ट्रिय सभा नियमावलीमा तय गरिएको छ।

अब मंगलबार बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्नेछ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार, बैठकको सुरुमा राष्ट्रिय सभाका सदस्य आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

अर्का सदस्य गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्ने भएकाले उनले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन्।

त्यसपछि दुवै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। छलफल सकिएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ।

उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने नियमावलीको व्यवस्था छ।

राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरिन्छ।

यस निर्वाचनबाट आउने अध्यक्ष नयाँ संविधानबमोजिमको राष्ट्रिय सभाको दोस्रो अध्यक्ष हुनेछन्। 

पहिलो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि यही फागुन २० गते सकिएकाले यो पद रिक्त भएको हो। तिमिल्सिना एमाले सांसद थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .