ad ad

राजनीति


तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन पूर्व सभामुखहरुको आग्रह

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन पूर्व सभामुखहरुको आग्रह

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार १०:११,

पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन्।

संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहो¥याउन पनि संसदको आवश्यकता रहनेभएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन्।

संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभामुखहरुको भनाइ छ। लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन्।

पूर्व सभामुख ओनसरी घर्तीले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताए। संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्न पनि संसद अनिवार्य रहेको बताए। कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यससम्बन्धी थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताए।

जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन्। विधि विधान अनुसार एउटा प्रक्रियामा अगाडि बढ्नका लागि संसदको आवश्यकता रहेको उनको भनाइ थियो। ‘जनताको प्रतिनिधिमुलक संस्था नचल्दा अराजकतातिर जान्छ। विधि, विधान अनुसार एउटा प्रक्रियामा अगाडि बढ्नका लागि पनि संसद चल्नुपर्छ’, उनले भनिन्, ‘प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ। जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन्। संसद जनताको प्रतिनिधिमुलक संस्था भएकाले नियम, प्रकृया र विधि विधानमा आउँछ। राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ। संसद अनिवार्य छ।’

स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाउँदै जुनसुकै अवस्थामा पनि संसद सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘६ सय सांसदको म्यानेज भएको ठाउँ हो। अहिलेको संख्या एकदमै सानो हो। यसलाई व्यवस्थापन पनि सचिवालयले यो भन्दा पहिलेको बैठक पनि दूरी बनाएर सञ्चालन गरेको थियो। सांसदहरुले आफ्नो ठाउँबाट सतर्कता अपनाउने र यातायातको साधन नभएका सांसदका लागि म्यानेज गरियो भने चल्न नसक्ने हुन्न’, उनले भनिन्, ‘संसद रिस्क मोलेर पनि चल्नुपर्छ। किनकि त्यो त जनताको प्रतिनिधिमुलक संस्था हो। जनताको जीवनरक्षाका लागि जनताले आफ्ना काम अगाडि बढाउनदा पर्ने अफ्ट्यारा पनि संसदले सम्बोधन गर्नुपर्छ।’

पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताए। सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त भएको दावी गरे। तिहार छठ लगत्तै अधिवेशन सुरु गर्नुपर्ने बताए।

‘संघीय लोकतान्त्रीक प्रणालीमा संसद अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण हुन्छ’, उनले भने, ‘अहिले संसदको अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने नियम कानुनहरु बन्न सकेनन्। आकस्मिक रुमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो। यो सत्तााधारीको मनोपोलीको दृष्टान्त हो।’ उनले संसदको अधिवेशनको नियम हुने र तोकिएको समयमा चल्ने भन्दै आवधिक निर्वाचन, आवधिक समयवद्ध काम लोकतन्त्रको अनुशासन भएको बताए। ‘संसदले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानून बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन’, उनले भने, ‘समय नआउँदै अधिवेशन अन्त्य गरियो। अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ। देशलाई दिशा दिनुपर्छ।’

सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उानले स्वीकार गरे। संसदको क्रियाशीलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए। सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .