नेपाल क्रिकेट संघ(क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता पुस मध्यमा आयोजना गर्ने निर्णय गरेको छ।
क्यानको शनिबार बसेको अनलाईन बैठकले उक्त निर्णय गरेको हो। प्रतियोगिता आयोजनाका लागि स्वीकृति लिने काम तत्काल थाल्ने समेत क्यानको बैठकले निर्णय गरेको छ।
चैत्रयता नेपाली क्रिकेटका कुनैपनि गतिबिधि भएका छैनन। यस्तै क्यान बैठकले राष्ट्रिय क्रिकेट टिम (पुरुष)को बन्द प्रशिक्षण सम्पुर्ण स्वास्थ्य मापदण्ड अपनाउँदै आगामी मङ्सिर १० देखि सन्चालन गर्ने निर्णय समेत गरेको छ।
यस्तै भारतीय दुतावासको सहयोगमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको पवेलियन हलको स्तरोन्नति गर्ने निर्णय गरिएको क्यान कोषाध्यक्ष रोसन सिंहले जानकारी दिए।
त्यसबाहेक मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ। क्यानले बार्षिक साधारणसभा आगामी मङ्सिर ३ मा आयोजना गर्ने भएको छ।
यस्तै केन्द्रीय सदस्य दुर्गाराज पाठकको संयोजकत्व रहने गरि नेसनल क्रिकेट एकेडमी सञ्चालन कार्यविधि निर्माण गर्ने निर्णय समेत गरिएको छ।
त्यसबाहेक बैठकले राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक फिटनेस ट्रेनर समेत नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै प्रशान्तबिक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलास बिष्ट र छुम्बी लामा सदस्य रहनेगरी दुईहप्ता भित्र तीन बर्षीय रणनैतिक योजना निर्माण गर्ने निर्णय समेत गरेको छ।
प्रतिक्रिया