अन्ततः एमालेको असन्तुष्ट पक्ष (माधव नेपाल) आफूनिकट सांसदको सामूहिक राजीनामा गराउने लगभग निष्कर्षमा पुगेको छ।
माधव नेपाल पक्षका एक नेताको दाबीअनुसार दोस्रो तहका नेताबीच भएको ‘अन्डरस्ट्यान्डिङ’ मा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असहमति जनाएपछि सामूहिक राजीनामा गराउने तयारी भएको हो।
भोलि सोमबार हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने कार्यक्रम छ। त्यसबेला कर्णालीमा जस्तो फ्लोर क्रस गर्दा पार्टीको अनुशासनविपरीत हुने भएकाले बरु त्यसअघि नै सांसदले सामूहिक राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने निर्णयमा नेपाल पक्ष पुगेको हो।
यद्यपि यसको अन्तिम निर्णय आज दिउँसो बस्ने स्थायी कमिटीको बैठकले गर्ने नेपाल पक्षले जनाएको छ।
सांसदको सामूहिक राजीनामा दिने निष्कर्षमा किन पुग्यो नेपाल पक्ष?
एक जना एमाले नेताका अनुसार अस्ति प्रधानमन्त्रीको निवास (बालुवाटार) मा दुई पक्षका दोस्रो तहका नेताबीच वार्ता भएको थियो। त्यसमा माधव नेपालको पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल थिए।
ती नेताको दाबीअनुसार दुई पक्षबीच एमालेलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने ‘अन्डरस्ट्यान्डिङ’ भइसकेको थियो। तर पदाधिकारीबारे के गर्ने भन्ने विषयमा ओली पक्षका नेताले आफ्ना अध्यक्षलाई सोध्नुपर्छ भने भने यता नेपाल पक्षका नेताले पनि वार्तामा भएका कुरा आफ्ना प्रमुख नेता माधवकुमार नेपाललाई सुनाउने सहमतिसहित वार्ताबाट बाहिरिएका थिए।
सर्वाेच्च अदालतको फैसलाअनुसार नेकपाबाट एमाले अलग भएपछि अध्यक्ष ओलीले गत फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटी बैठक राखेर अध्यक्ष (आफू) र महासचिव (ईश्वर पोखरेल) बाहेक अन्य सबै पदाधिकारीको पद खारेज गराएका छन्। अर्थात् यी दुई पदाधिकारीबाहेक एमालेमा अबदेखि बाँकी सबै सदस्य रहने निर्णय गराएका छन्। यति मात्र होइन, उनले माधव नेपाल–झलनाथ खनाल पक्षका सबै नेतालाई पार्टीमा जिम्मेवारीविहीन बनाउँदै गृहमन्त्री रामबहादुर थापासहित आफूतर्फ आएका माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य बनाएका छन्।
जुन निर्णय सबै खारेज हुनुपर्ने र पार्टीलाई अदालतको फैसलाबमोमिज पहिलेकै अवस्था अर्थात् माओवादी केन्द्रसँग एकता गर्नुअघिका पदाधिकारी कायम गर्नुपर्ने अडान नेपाल पक्षको छ।
तर माथि उल्लिखित दोस्रो तहका नेताले लगेको सन्देशमा ओलीले असहमति जनाएका हुन्।
हिजो शनिबार सांसदसहित बसेको माधव नेपाल पक्षको नेताहरूको बैठकमा बालुवाटारबाट अध्यक्षले हुँदैन भन्नुभो भन्ने खबर आएपछि नेपाल पक्ष सांसदको सामूहिक राजीनामा गराउने निष्कर्षमा पुगेको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।
‘वार्तामा बसेका दोस्रो तहका नेताले अध्यक्षले हुँदैन भन्नुभो भन्ने खबर गरे,’ नेपाल पक्षका नेताले नेपालखबरसँग भने, ‘त्यसपछि हामी सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हौं।’
यसबीच प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच पनि पटकपटक वार्ता भए तर सहमति हुन सकेन।
यो पनि : सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?
प्रतिक्रिया