यो २०७९ सालको चुनावताकाको कुरा हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहाँबाट चुनाव लड्ने, द्विविधामा थिए। चितवन ३ बाट २०७४ सालको चुनाव जितेका प्रचण्डलाई पूर्वसहकर्मी तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा बोलाए।
आफू भारी मतले विजयी भइरहेको गोरखा निर्वाचन क्षेत्र नम्बर २ प्रचण्डका लागि त्याग गर्दै आफू चुनाव नलड्ने घोषणा गरे। जित निश्चित भएको निर्वाचन क्षेत्र सुम्पेपछि उनी हरेकजसो चुनावी आमसभामा प्रचण्डसँगै उभिए। र, ‘आफूभन्दा पनि योग्य’ लाई मत दिन आग्रह गरे।
माओवादी छाडेपछि नयाँ शक्ति हुँदै पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका उनले गत चुनावमा आफ्ना पार्टीका उम्मेदवारलाई पनि माओवादीकै चुनाव चिह्न हँसिया–हथौडा थमाए। गोरखाबाट प्रचण्ड भारी मतले विजयी भए।
सो क्षेत्रमा खसेको कूल ५४ हजार ३१ मतमध्ये प्रचण्डका पक्षमा २६ हजार १०३ मत परे। त्यसो त २०७४ सालको चुनावमा बाबुरामले सो क्षेत्रबाट विजयी हुँदा ३१ हजार ८०७ मत पाएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए। त्यो चुनावमा बाबुरामलाई कांग्रेस र नारायणकाजीलाई एमालेको साथ थियो।
त्यहाँसम्म ठीकै थियो। माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण प्रयास पनि भए। तर जनयुद्धकालदेखि नै कहिले नजिक त कहिले टाढा भइरहेका प्रचण्ड–बाबुराम मिल्न सकेनन्। पार्टी एकता हुन सकेन।
पार्टी एकता असम्भव देखिए पनि केही दिनअघिसम्म यी दुई नेता एउटै वाम–लोकतान्त्रिक गठबन्धनमा थिए। तर, प्रधानमन्त्री प्रचण्डले एकाएक एमालेसँग साइनो जोडे। बाबुरामले असन्तुष्टि जनाए। उनले सो गठबन्धनलाई ‘घीउ बेच्ने र तरबार बेच्ने’ लोककथासँग जोडेर व्यंग्य गरे। त्यति मात्र होइन, बाबुरामको पार्टीले नै आधिकारिक धारणा राख्दै ‘सत्ता स्वार्थको लागि हुने सरकार परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा नहेरेको’ प्रतिक्रिया दियो।
नेसपाका तर्फबाट जारी विज्ञप्तिमा ‘कुर्सीका लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने,सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारवाद, नातावाद,सत्ता लिप्तमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमनतर्फ धकेल्ने निश्चित छ’ दाबी गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गरिएको छ।
त्यसो त डा. भट्टराईले माओवादीको चुनाव चिह्नबाटै विजयी बनेका आफ्नो पार्टीका सांसदहरूको छुट्टै पहिचानका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन्। नेसपाको निवेदनअनुसार निर्णय भएमा संघीय संसद्मा प्रत्यक्षतर्फ विजयी महिन्द्र राय यादव र समानुपातिकतर्फबाट सांसद बनेकी उमरावती देवी आइन्दा नेसपाका सांसदका रूपमा परिचित हुनेछन्।
यसैबीच अब २०८४ मा हुने चुनावमा गोरखा-२ मा नेसपा अध्यक्ष डा. भट्टराई आफैँ लड्नेछन्। यो कुराको खुलासा उनी प्रधानमन्त्री रहँदा प्रेस संयोजक रहेका तथा हाल नेसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले पुष्टि गरेका छन्।
आइतबार पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो। त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरूसँग बृहत् छलफल भएको थियो। सो क्रममा आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्विकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ।’
विश्वदीपको भनाइ आधिकारिक हो भने अब बाबुराम प्रचण्डलाई माया गर्ने पक्षमा छैनन्।
Shares
प्रतिक्रिया