ad ad

राजनीति


मुख्यमन्त्री बनाउने परमादेशपछि कार्की भन्छन्– मध्यावधि चुनाव चाहँदैनौं

एकीकृत समाजवादीसहित सबै दलसँग कुरा गर्छौं
मुख्यमन्त्री बनाउने परमादेशपछि कार्की भन्छन्– मध्यावधि चुनाव चाहँदैनौं

नेपालखबर
भदौ २१, २०८० बिहिबार २१:७, काठमाडौँ

सर्वोच्च अदालतले ४८ घण्टाभित्रमा मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले अब सबै दलसँग छलफल गरेर अगाडी बढ्ने प्रतिक्रिया दिएका छन्। 

बिहीबार साँझ नेपालखबरसँग कुरा गर्दै कार्कीले कानुनहरु मिच्ने अभ्यास भएको र सर्वोच्चले आफूहरुलाई सर्वोच्चले सच्याइदिएकाले अब सबै दलसँग मिलेर अगाडी बढ्ने बताएका हुन्। 

कार्की आफैंले दोस्रो पटक दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासले तीन दिनको सुनुवाइपछि उनको पक्षमा परमादेश जारी गरेको हो। परमादेश जारी भएसँगै कार्कीले आफूहरूले मध्यावधी चुनाव नचाहेको बताए। 

‘अब हामी कांग्रेस, माओवादी, राप्रपा, एकीकृत समाजवादी सबैसित कुरा गर्छौं। भरसक सबै मिलेर जानुपर्छ भन्ने नै हो मेरो मत। प्राविधिक रुपमा अस्ति केही दलले नमानेका कारणले गर्दा अड्किएको हो’, कार्कीले भने, ‘हामी सबैको चाहना मध्यावधी चाहना होइन। चुनाव जनताको पनि माग छैन। परिस्थिति पनि छैन। त्यसो भएको हुनाले चुनाव छल्नलाई अब हामी सबै मिलेर अगाडी बढ्छौं। यसमा समस्या हुन्छ जस्तो मलाई लाग्दैन।’

सर्वोच्चको बिहीबारको आदेश पनि सबै दलहरुलाई मिल्नका लागि प्रस्थान बिन्दु हुने बताए।

कोशी प्रदेश अस्थिर भएको होः भन्ने नेपालखबरको प्रश्नमा कार्कीले भने, ‘कोशी भनेको ठूलो नदी हो। भेलबाढीहरू आयो। खोलाहरु असन्तुलित भए, केही पहिरो पनि गयो। अब पानी पर्ने मौसमको समय सकियो, अब सबै कुरा स्थिर भएर अगाडी बढ्छ।’

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले बिहीबार सुनुवाइ सक्दै कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गरेको हो।

कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको थियो।

गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। 

विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो। 

सर्वोच्चको आदेशसँगै पहिलोपटक कोशीको मुख्यमन्त्री बनेको २२ दिनपछि पदमुक्त भएका थापा पुनः अर्कोपटक पदमुक्त भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .