आगामी ३ दिनलाई वर्षाको खासै सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मंगलबारसम्मलाई वर्षाको सम्भावना कम देखिएको हो।
यद्यपि यसबीच पहाडी भेगका केही स्थानमा हल्का/क्षणिक वर्षा हुने सम्भावना भने छ। ‘यो भनेको खासै त्यस्तो वर्षाको सम्भावना होइन’, मौसमविद् मानन्धरले भनिन्, ‘पानी परे पनि डढेलो निभाउने खालको पर्दैन, छिटपुट मात्र हो, त्यसैले त्यस्तो लेख्या हाैँ (मौसम पूर्वानुमान बुलेटिनमा)।’
मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भेगका थोरै स्थानमा तथा देशका बाँकी पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।
मौसमविद्का अनुसार आज दिउँसो हावाहुरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा चल्ने अलि बढी सम्भावना छ भने तुलनात्मक रूपमा मधेश प्रदेशमा कम सम्भावना छ।
‘त्यस्तो ठूलो हावाहुरी होइन, नर्मलभन्दा अलि बेग्लै खालको मात्र चल्ने सम्भावना हो’, मौसमविद् मानन्धरले भनिन्, ‘छानो उडाउने खालको होइन, सुकाएको लुगा उडाउने खालको हावाहुरी आउने सम्भावना छ।’
महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। यसबाहेक राति देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
हेर्नुहोस् ३ दिनको मौसम सम्भावना–
Shares
प्रतिक्रिया